हिजो आज प्रदेश दुईको नाम, भाषा र स्थायी राजधानीको विषयमा चर्चा हुनु सामान्य भईसकेको छ।
यो चर्चा चिया पसल वा पान पसलमा मात्र नभई सामाजिक सञ्जालमासमेत दिनहुँ चलिरहेको छ।
कतिपयले प्रदेश दुईको नाम मधेश वा मध्य मधेश राख्नुपर्ने वकालत गरिरहेका छन् भने कतिपय मिथिलाको पक्षमा छन्।
मिथिलाको आफ्नो अलग्गै पहिचान, संस्कृति, भेषभुषा, आफ्नै भाषा तथा लिपी रहेकाले प्रदेश दुईको नाम पनि मिथिला प्रदेश र भाषा पनि मैथिली हुनुपर्ने नै तर्क गर्नेहरुको कमी छैन।
आम जनतामा एकमत नभए जस्तै प्रदेश दुईका राजनीतिक दलहरुमा समेत मतैक्यता पाइँदैन। सत्ताधारी दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल मधेश आन्दोलनको बलमा संघीयता आएकाले प्रदेशको नाम मधेश नै राख्नुपर्ने बताउँदै आईरहेका छन्।
तर प्रतिपक्षी दलहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भने प्रदेशको सबै जनताको भावना समेटिने गरी मिथिला भोजपुरा नामको पक्षमा छन्।
प्रदेश सरकार गठन भएको ९ महिना भईसके पनि सरकारले न प्रदेश दुईको नामाकरण गर्नसकेको छ न त यसको भाषाबारे नै टुंगो लगाउन सकेको छ ।
यद्यपि प्रदेश दुईको नाम र राजधानीको विषयमा प्रदेशसभाबाट कुनै ठोस निर्णय आउन नसकेपछि सरकारले डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको छ।
आयोगले प्रदेश दुईको नाम र राजधानीको विषयमा प्रदेश दुईको आठ वटै जिल्लाबाट सुझाव संकलन गरी सरकारलाई बुझाउने छ।
आयोगले ४५ दिनभित्र प्रदेशको नाम र भाषा र स्थायी राजधानीबारे टुंगो लगाउने गरी गृहकार्यमा जुटेको छ।
प्रदेश दुईमा नामाकरण र भाषाबारे कुनै प्रकारको विवाद नरहेको आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले बताए।
‘मिथिला प्रदेश नामाकरण गर्दा यो प्रदेश कुनै एक समुदायको लागि मात्रै हो जस्तो हुन्छ तर मधेश राख्दा सबैले अपनत्व महसुस गर्छन्,’ उनले भने।
तर प्रतिपक्षी दल नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल मिथिला र मैथिलीको ईतिहास प्राचिन रहेकोले र जनकपुरधामदेखि प्रदेश दुईका ८ वटै जिल्ला मिथिलामै पर्ने भएकाले प्रदेश दुईको नाम मिथिला हुनुपर्ने बताए ।
‘यदी यसले भोजपुरा समुदायका जनता असतुष्ट हुने सम्भावना छ भने यस प्रदेशको नामाकरण मिथिला भोजपुरा मधेश प्रदेश गरी ‘‘सेफ ल्याण्डिङ’’ गर्न सकिन्छ,’ उनको सुझाव थियो।
प्रदेश दुईकै अर्का प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं संसदीय दलका नेता रामसरोज यादव प्रदेश दुईमा सबैभन्दा बढी लगभग ४५ प्रतिशत मैथिलीभाषीहरु रहेकोले यहाँको भाषा मैथिली नै हुनुपर्छ भन्नेमा जोड दिए।
उनले प्रदेशको नामाकरणमा भने मिथिला भोजपुरा हुनुपर्ने भन्नेमा नेपाली कांगेस अडिग रहेको बताए। ‘मिथिला र भोजपुराको आफ्नो महत्व र संस्कृति रहेको छ जुन कुरालाई हामी नकार्न सक्दैनौ त्यसैले दुबै प्रतिपक्षी दलको अडान पनि एकै हो यस प्रदेशको नामाकरण बारे,’ उनले भने।
राजपाका नेताहरुको राय भने संघीय समाजवादी फोरम जस्तै छ । राजपाका प्रदेशसभा सदस्य सुरिता साह भने प्रदेशको नामाकरणको सवालमा हामी मधेशभन्दा पछाडि हट्न नसक्ने अडान दोहोर्याइन्।
मैथिलीका बरिष्ठ साहित्यकार अशोक दत्त मधेश २२ जिल्लामा रहेकाले मधेश नाम उपयुक्त हुन नसक्ने बताए ।
‘प्रदेश दुईको आठ जिल्ला विशुद्ध रुपमा मिथिलाको भूभाग रहेकाले मिथिला नाम नै उपयुक्त हुन्छ,’ उनले भने।
मिथिलाको पक्षमा सर्वसम्मती हुन नसके मिथिला भोजपुरा मधेश नाम राख्न सकिने सुझाव साहित्यकार दत्तको रहेको छ ।
उनले मधेश आन्दोलनको अस्तित्वलाई नकार्न सकिदैन त्यसैले मिथिला भोजपुरा मधेशको पक्षमा माहौल बन्न सक्नेमा विश्वस्त रहेको बताए ।
प्रदेश दुईको नाम र भाषाको सवालमा भिन्न भिन्न व्यक्तिको भिन्न भिन्न विचार भएपछि कुनै एक नाममा सर्वसम्मति हुन सकिरहेको छैन । प्रदेशसभा समेत मधेश वा मिथिला कुनै नाममा दुई तिहाई मत पुग्ने सम्भावना नभएपछि प्रदेश सरकारका लागि टाउको दुखाइको विषय बनेको छ ।
प्रदेश सरकारको नाम र भाषाको विषयमा चलिरहेको वहसलाई प्रदेश दुईको प्रदेशसभाले विराम दिने भए पनि प्रदेश सरकार संवाद तथा सुझाव आयोगको प्रतिवेदनको प्रतिक्षामा छ।