वीरगञ्ज महानगरपालिकाले वीरगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ।
नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले आगामी पुस १७ गते अर्थात अंग्रेजी नयाँ वर्ष जनवरी १ देखि वीरगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भूसालले वीरगन्ज नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने र प्लाष्टिक प्रयोगमा रोक लगाउने विषय बैठकमा पेश गरेका थिए। उनको प्रस्तावलाई कार्यपालिका बैठकले सर्वसहमतीमा पारित गर्दै विरगन्जलाई हर्न र प्लास्टिक निषेधित सहरको रूपमा विकास गर्ने भएको छ।
महानगरपालिकाको उक्त निर्णयलाई सफल बनाउन जिल्ला ट्राफिक कार्यालय तथा स्थानीय संघ संस्थाको समन्वयमा व्यापक जनचेतना कार्यक्रम शुरु गर्नेसमेत निर्णय भएको छ।
प्लाष्टिकजन्य पदार्थबाट वीरगञ्ज महानगरक्षेत्रमा भएको प्रदुषणलाई मध्यनजर गर्दै आगामी १ जनवरीबाट लागू हुने गरी प्लाष्टिकको कप तथा प्लेटको प्रयोगसमेत निषेध गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले सेतोपाटीलाई जानकारी दिए।
तालिम, गोष्ठी, कार्यशाला तथा अध्ययन भ्रमण खर्च तथा तालिम, गोष्ठी, कार्यशाला तथा अध्ययन भ्रमण खर्च सम्बन्धी निर्देशिका,अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण देहायका नियमावलीलगायत विभिन्न कार्यविधि एवम् मापदण्डहरू परिमार्जनसहित नौ बुँदे निर्णयहरू स्वीकृत गर्ने निर्णय गरेको छ।
साथै महानगर क्षेत्रभित्रका कृषिजन्य जमीनमा कृषकहरूले कृषि प्रयोजनका लागि महानगर क्षेत्रभित्रका ग्रामीण वार्डका जग्गाधनीलाई कृषि मिटर जडान गर्ने तथा कृषि ऋणका लागि सिफारिससमेत निर्णय गरेको छ।
महानगरको पहिलो चौमासिक अवधिको राजश्व अशुली तथा खर्चको समीक्षा गर्न वडा अध्यक्ष ब्रह्मदेव कुर्मीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी प्रतिवेदन दिन १ साताको समय दिएको छ।