रामजानकी विवाहपञ्चमीको सुरक्षा तयारी पूरा भएको छ। साताव्यापी मनाईने महोत्सवमा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि प्रदेश दुई पूर्ण रूपले तयार रहेको डिआईजी हरिबहादुर पालले बताए।
‘ऐतिहासिक महोत्सवको रूपमा मनाईने सीताराम विवाहपञ्चमीमा अन्य उत्सवभन्दा अधिक भीडभाड रहने गरेकाले सुरक्षा तयारी समेत त्यसै अनुरूप गर्नुपर्ने हुन्छ,’ उनले सेतोपाटीसँग भने ।
यसपाली भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयम् जन्तीको नेतृत्व गर्दै आउने भएकाले प्रदेश दुईको आठ वटै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डिआईजी पालले जानकारी दिए।
उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटक चढेर आएको सवारी साधनको लाम लाग्ने भएकाले नगरभरि ट्राफिक व्यवस्थापनमा विशेष जोड दिइएको छ ।
उनले भने, ‘जटही नाकाबाट आउने सवारी साधनलाई जनकपुरधाम विमानस्थलभन्दा अगाडि नै रोकिनेछ, त्यसैगरी जिरोमाइल तर्फका लागि बस स्ट्याण्डभन्दा अगाडि र मुजेलिया तर्फका पर्यटकका लागि त्यो भन्दा अगाडि नै सवारी साधन प्रवेशमा रोक लगाइने छ।’
विवाहपञ्चमीको सुरक्षा निगरानीका लागि प्रदेश दुईबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ हजार ५ सय सुरक्षाकर्मी नगरभरी परिचालन गरेको उनले जानकारी दिए। ‘केन्द्रबाट समेत समन्वय गरेर हामीले सुरक्षाकर्मी मगाएका छौं,’ उनले भने।
उनका अनुसार सादा पोशाककाा प्रहरीले एक साता अगाडिदेखि नै गस्तीमा खटिसकेको छ भने ड्रोन क्यामेराबाट समेत प्रहरीले निगरानी बढाएको छ।
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउबाट सीधै जनकपुरधाम विमानस्थलमा ओर्लने कार्यक्रम रहेको छ। त्यसपछि उनी सिधै प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गर्नेछन् र त्यहाँबाट प्रदेश सरकारको निमन्त्रणामा मधेश भवनमा आयोजना हुने दिवाभोजमा सरिक हुनेछन्। उनी सोही दिन रंगभूमि मैदानमा आयोजना हुने रामजानकी स्वयम्वरमा सरिक हुँदै काठमाडौँ जाने कार्यक्रम तय भएको छ ।
डिआईजी पालले भने, ‘भारतको एक राज्यका मुख्यमन्त्री जनकपुर आउँदैछन् उनको सुरक्षाको जिम्मेवारी हामीमाथि छ । त्यसैले विशेष सुरक्षा नीति अपनाउँदै जानकी मन्दिर, मधेश भवन र रंगभूमिको भिआइपी कक्षमा बस्नका लागि विशेष पासको व्यवस्था गरेका छौं।’
तर रंगभूमि मैदानमा सर्वसाधारणले मुख्यमन्त्री योगीको कार्यक्रम त्यसै हेर्न नपाउने उनले बताए।‘जिल्ला प्रशासन कार्यालयले पास लिएर रंगभूमी मैदान प्रवेश गर्नुपर्ने हुन्छ,’ उनले भने।
मुख्यमन्त्री योगी लगभग ३० मिनेटसम्म जानकी मन्दिरमा रहने कार्यक्रम रहेको छ र उनको सुरक्षा निगरानीलाई दृष्टिगत गर्दै मन्दिरमा पूजाअर्चना गर्न पुग्ने दर्शनार्थीलाई तत्काल केही समयका लागि निषेध गरिनेछ।
यसैबीच विवाहपञ्चमी महोत्सवका लागि सोमबार अयोध्याबाट जन्ती जनकपुरधाम आई पुगेको छ। करिब दुई सयको संख्यामा जन्ती जटही नाकाहुँदै जनकपुरधाम आईपुगेको हो। जन्तीमा अयोध्यालगायत सो क्षेत्रका प्रमुख मन्दिरका महन्थ, साधु सन्तहरु सहभागी छन्।
जन्तीलाई जटहीमा भव्य स्वागत गर्न जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वको टोली त्यहाँ पुगेको थियो।
राजनीतिक अस्थीरताका कारण विगत केही वर्ष यता हाती, घोडा, उँटमा सवार भएर जन्ती आउने क्रम बन्द भए पनि यसपाली पुनः यसले निरन्तरता पाएको छ। जन्ती १५ वटा सवारी साधन, हाती, घोडा, उँटमा सवार भएर आएका छन्।