वीरगन्ज भन्सार कार्यालयले बुधबारदेखि नेपाल-भारत सीमाको वीरगन्ज भन्सार नाकामा कडा चेकजाँच सुरू गरेको छ।
बुधबार बिहानदेखि लागू भएको नयाँ नियम अनुसार अब भारतहुँदै वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुले तोकिएको स्थानसम्म पैदल हिँडी सरसमान चेकजाँच गराउनु पर्ने भएको छ।
वीरगन्ज भन्सार कार्यालय अगाडिबाट तस्करी बढेको बताउँदै प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले नाकामा हुने गरेको अनियमितता तथा तस्करी नियन्त्रण गर्न आवागमन ब्यवस्थापनमा कडाइ गर्दै नयाँ ब्यवस्था लागू गरिएको सेतोपाटीलाई जानकारी दिए।
वीरगन्ज महानगरपालिका १६ मा पर्ने वीरगन्ज भन्सार कार्यालयका शाखा अधिकृत कुमारप्रसाद घिमिरेद्धारा हस्ताक्षर एक सूचना प्रकाशित गर्दै कार्यालयले यस्तो ब्यवस्था लागू गरेको हो।
यसैबीच वीरगन्ज भन्सारले लागू गरेको नयाँ नियमको संघीय समाजवादी फोरम नेपालले विरोध गरेको छ।
भन्सारले लागू गरेको नियम मधेस बिरोधी भएको भन्दै फोरमका महानगरसमितिका युवाले विरोध गरेका हुन्।
भन्सार क्षेत्रमा फोरम लगायत स्थानीय युवाले दिउँसो १ बजेदेखि प्रदर्शन गरेपछि सीमा क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो।
‘गणतन्त्र र संघीयता लागू भएपछि जनतालाई आउजाउमा सहज हुनु पर्नेमा शाही शैली जस्तै दुःख दिने प्रवृत्तिको आफूहरुले विरोध गरेको संघीय समाजवादी फोरम नेपालका महानगरपालिका समितीका अध्यक्ष ईश्वर यादवले बताए।
उनले जनप्रतिनिधिसँग छलफलनै नगरी लागू गरिएको चेकजाँचको यो नियम फिर्ता नभएसम्म नाकाको प्रदर्शन जारी राख्ने चेतावनीसमेत दिए।
फोरम नेपालका सांसद प्रदीप यादवले यो निर्णय नसच्याइए कडा कदम चाल्ने चेतावनी दिएका छन्।
उता भारतको सीमा जागरण मञ्चका बिहार प्रदेश अध्यक्ष महेश अग्रवालले सीमामा परिचयपत्र प्रणाली लागू गर्ने प्रयासको लागि पूर्वअभ्यास जस्तै गरिएको यो नियमको नेपाल मात्रै नभइ सिमावर्ती भारतीयले पनि बिरोध गर्न बाध्य हुने प्रतिक्रिया दिए।