राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको लगभग २ वर्ष भयो।
विभिन्न ६ वटा मधेसवादी पार्टी एकै स्थानमा हुनुपर्छ भन्ने जनताले चाहेको भन्दै ६ वटै दलका केन्द्रीय तहका नेताले पार्टी एकता गरेका थिए।
केन्द्रका नेताहरूले हामी एक छौं भन्ने दाबी गरिरहकै बेला स्थानीयस्तरका नेता कार्यकर्ताबीच अहिलेसम्म एकता हुन नसकेको भन्ने सन्देश गत शुक्रबार राजपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का प्रमुख सचेतक एवम् प्रदेशसभा सदस्य परमेश्वर साहको नेतृत्वमा नेता कार्यकर्ताहरुले अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुतला दहन गरेपछि स्पष्ट गरिदिएको छ।
राजपा केन्द्रीय संयोजक राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै धनुषा अध्यक्ष मण्डलका ६ जना सदस्यमध्येबाट देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुलाई सदस्यमा मनोनित गरेपछि प्रदेश दुईका सचेतक साहकै नेतृत्वमा महतोको पुत्ला जलाउँदै जिल्लाका नेताकार्यकर्ताले चर्को नाराबाजी नै गरे ।
प्रमुख सचेतक साहले अध्यक्ष महतो पार्टी विधान र नीतिविपरित अगाडि बढेको भन्दै एकल निर्णय र हैकमवाद उचित नरहेको बताएका थिए ।
तर राजपाकी प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले पार्टीको विधानले नै जिल्लादेखि केन्द्रसम्म चक्रियप्रणाली अनुसार अध्यक्ष फेरबदल गर्ने कुरा स्पष्ट गरिदिएको बताईन्।
उनले जिल्लास्तरमा जारी रहेको विवादको औचित्य नरहेको दाबी गरिन्। उनले भनिन्, ‘यस्ता स–साना मुद्दालाई उठाएर समग्र पार्टीलाई नै बदनाम गर्न खोजिएको छ ।’
अध्यक्ष महतोको पुत्ला दहन सम्बन्धी प्रश्नमा प्रदेशसभा सदस्य शर्माले भनिन्, ‘अध्यक्ष मण्डलले गरेका निर्णयसम्बन्धमा आन्तरिक छलफल नै नगरी अध्यक्षको पुत्ला नै दहन गर्नु राजनीती संस्कार विपरीत हो ।’
प्रदेशसभा सदस्य शर्माले प्रदेशसभा सदस्य परमेश्वर साहमाथि भएको थप्पड काण्डबारे आफूलाई जानकारी नरहेको दाबी गरिन् । उनले आफूले पार्टीमा यसबारे कुरा राख्दा सामान्य भनाभन मात्रै भएको भन्ने जानकारी प्राप्त गरेको बताईन् ।
राजपाकै प्रदेशसभा सदस्य एवंम् केन्द्रिय कोषाध्यक्ष सुरीता साहले राजपामा कुनै प्रकारको विवाद नरहेको दाबी गर्दै यसलाई केही अराजक तत्वले विवादमा ल्याउन चाहेको बताईन् । उनले भनिन्, ‘राष्ट्रिय अध्यक्षहरुमा विवाद नरहेपनि स्थानीयस्तर जबरजस्ती सानोतिनो मुद्दालाई उठाएर विवादित बनाईदैछ ।’
कार्य मूल्याङकनको आधारमा जिल्लास्तरमा नेतृत्व फेरबदल गर्नसक्ने अधिकार केन्द्रिय अध्यक्षसँग रहेको भन्दै उनले अगाडि भनिन् ‘अध्यक्षज्यूले गर्नुभएको निर्णय पार्टीको विधानविपरित नभई विधानसम्मत नै रहेको छ।’
राजपाका अर्का प्रदेशसभा सदस्य उपेन्द्र महतोले पुत्लादहनमा सामेल भएकाहरुसँग दिमाग नरहेको आरोप लगाए। उनीहरु आफ्नो मस्तिष्कले नभई अरुको उक्साहटमा यस्तो कार्य गरेको प्रदेशसभा सदस्य महतोले सेतोपाटीसँग भने ।
माथिल्लो तहमा अस्थिरता रहेको भन्ने भ्रम फैलाएर ‘ईन्जोय’ गर्नेहरु तल्लो तहमा विवाद उत्पन्न गराउन चाहेको र त्यसो नहुँदा गुट उपगुट गर्नेहरुलाई समस्या भईरहेको उनले दाबी गरे ।
यता धनुषा जिल्लाका हालका संयोजक प्रमोद यादवले भने धनुषा जिल्लाको नेतृत्व तहमा विवाद रहेको स्वीकार गरे । उनले यस्ता विवादहरु सुल्झाउन पार्टीका केन्द्रीय अध्यक्षहरुले भूमिका खेल्नुपर्ने बताए ।
पार्टीभित्रको आन्तरिक असन्तुष्टी साम्य पार्न आफुहरु प्रयासरत रहेको केन्द्रीय नेताहरुको दाबी रहेको छ । तर यस्ता सामान्य आन्तरिक विवादहरु मिडियामा उछाल्नु स्थानीयस्तरका नेतृत्वपंक्तिमा कमीकमजोरी रहेको भन्ने कुरा दर्शाएको उनीहरुको भनाई रहेको छ ।