भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन्। महासेठका अनुसार यस अवधिमा २५ पुलको निर्माण सम्पन्न भइसकेको छ भने ९९ किमी सडक कालोपत्रे गरिएको छ।
सडक विभागतर्फ पहिलो चौमासिक अवधिमा २३ आयोजनाको काम लक्ष्यको ८० प्रतिशत प्रगति भएको, ५ आयोजनाको आधा भन्दा कम प्रगति भएको र ७ आयोजनाको ५० देखि ८० प्रतिशत काम भएको मन्त्रालयको दावी छ।
मन्त्रालयका अनुसार कर्णाली करिडोरअन्तर्गत हिल्सा सीमिकोट सडकको २. ३ किमी ट्र्याक सम्पन्न भएको छ भने कोशी करिडोरअन्तर्गत २ किमी ट्रयाक र १ किमी ग्राभेल सडक बनेको छ। कालिगण्डकी करिडोरको ५ किमि ट्रयाक र १९ किमि सडक ग्राभेल भएको छ। हुलाकी राजमार्गमा ३२ किम िसडक कालोपत्र भएको छ। सडक विभागतर्फ लिइएको लक्ष्यको ८० प्रतिशत प्रगति भएको मन्त्रालयको दावी छ।
त्यस्तै नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको प्रगति लक्ष्यअनुरुप शत प्रतिशत भएको दावी गरिएको छ। रेल विभागतर्फ लक्ष्यको ९२ प्रतिशत काम भएको दावी गरिएको छ।
पूर्वाधार निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटान, जग्गा मुआब्जा, निर्माण सामाग्रीको उपलव्धता लगायत समस्याहरु देखिने गरेको मन्त्रालयले जनाएको छ।
आफ्नो चार महिनाको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री महासेठले भने ‘भौतिक पूर्वाधारमा कुनै प्रगति नभएको समाचारहरु आउने गरेका छन्, तर हामीले लक्ष्यअनुरुप धेरै काममा प्रगति गरिरहेका छौँ।’
पूर्वाधारको काममा तुरुन्त नतिजा नआउने भएकाले कतिपयलाई कामै नभएजस्तो देखिएको उनले बताए।
त्यस्तै रेल विभागतर्फ काकरभित्ता बर्दिबास–सिमरा–तम्सरिया– बुटवल (६३८ किमी) खण्डको विस्तृत अध्ययन प्रतिवेदन तयार भइरहेको मन्त्रालयले जनाएको छ।
जयनगर जनकपुर बर्दिबासमध्ये ५२ किलोमिटरमा ट्रयाक बेड, संरचना तथा रेलको काममा लक्ष्यको ९५ प्रतिशत पुरा भएको मन्त्रालयको दावी छ।
यातायाततर्फ एउटा मास प्रिन्टर ल्याइएको तथा १० लाख स्मार्ट कार्ड खरिदका लागि बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ।