१० बुँदे घोषणा पत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति महासंघको आयोजना तथा समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा विश्वव्यापी समस्याका रुपमा आइरहेको जलवायु परिवर्तनबारे दुई दिनसम्म छलफल गरी घोषणापत्र जारी गरीएको हो ।
समुन्द्री सतहबाट दुई हजार दुई सय पचास मिटरको ठिहि लाग्ने हिमाली गाउँ मेलम्ची नगरपालिकाको गुफा डाँडामा देशभरका समन्वय समितिका प्रमुख, उपप्रमुखसहित जलवायू परिवर्तनका विज्ञहरुले छलफल गरीएको थियो । सम्मेलनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।
घोषणापत्रमा जलवायु परिवर्तन तथा यसले पारेको असर बारे वैज्ञानिक खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिवृद्धिमा जोड दिने विषयलाई महत्वका साथ उठान गरिएको छ । त्यस्तै जलवायु परिवर्तन र यसको प्रभावका बारेमा विस्तृत वैज्ञानिक तथ्य तथा वास्तविकताको पहिचानका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायु मापनकेन्द्र स्थापनाको लागि पहल गर्ने समेत गरिएको छ ।
जलवायु परिवर्तन र यसले मानव जीवनमा पारेका नकारात्मक असरहरुको सन्दर्भमा उक्त समस्या र असर उपर भरपर्दो जानकारी र सूचना लगायत क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन हरेक जिल्ला समन्वय समितिले समन्वयकारी भूमिकाको लागि पहल गर्ने योजना समेत घोषणापत्रमा छ।
समुदायमा आधारित जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूलाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रमको तर्जुमा तथा त्यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र गैर सरकारी संस्थाको समन्वयकारी भुमिकालाई जोड दिने, जलवायु परिवर्तन तथा वातावरणीय अनुकुलन प्रविधि विकास र उपयोग तथा आवश्यक जनशक्तिको क्षमता अभिवृद्धि गर्न विशेष कार्य योजना निमार्ण गरि त्यसको प्रभावकारी कार्यन्वयन गर्न सवै तहको सरकारसँग जिल्ला समन्वय समितिले सहकार्य गर्ने समेत उल्लेख छ ।
वातावरणलाई विगारेर हैन श्रृङ्गारेर गरिनु पर्छ भन्ने मूलमन्त्रलाई आत्मसात गरी जलवायु मैत्री विकासलाई प्रबद्र्धन गर्ने योजना सहित जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्र संघिय खाका महासन्धीको सम्मेलन पूर्व नेपालको तयारीको रुपमा राष्ट्रिय जलवायु सम्मेलन को निरन्तर आयोजना गर्ने योजना समेत रहेको छ ।
७७ वटै जिल्लाका प्रमुखहरुले आफ्नो जिल्लाको नाम अंकित झण्डोत्तोलन गरी राष्ट्रिय जलवायु सम्मेलनलाई स्मरणीय बनाउन जलवायु परिवर्तनको असर झल्काउने स्ट्याचुलाई राष्ट्रपतीअनावरण गरेकी थिइन् । जलवायु परिवर्तनबाट पृथ्वीलाई बचाउनुपर्ने वा जलवायु परिवर्तनले कुनै बेला पृथ्बी नै जोखिममा पर्ने दोहोरो सन्देश दिने प्रकृतिको मानवले पृथ्वीलाई बोकेको झल्को दिने गरी स्ट्याचु निर्माण गरिएको थियो ।
कार्वन उत्सर्जन गर्ने मुलुकहरुका कारण नेपाल जस्तो हरित देश मारमा परेकाले औधोगिक मुलुकलाई शुल्क तिर्न दबाब दिइनेछ उद्धेश्यका साथ सम्मेलन आयोजना गरिएको हो । स्थानीय तहमा जलवायु अनुकुलन सम्बन्धी नीति निर्माणमा सघाउ पुर्याउनु पनि सम्मेलनले विशेष भूमिका निर्वाह गर्ने हुँदा यो सम्मेलन उपलब्धीमूलक हुने सम्मेलन मूल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।
सम्मेलनपछि जारी हुने घोषणापत्रले जलवायू परिवर्तन कम गर्न विशेष सन्देश प्रवाह गर्ने विश्वास लिएको उनले बताए ।
पर्यटकीयस्थल गुफाडाँडा आफैंमा जलवायु परिवर्तनको मार खेपेको ठाउँ हो । तीन सय ६० डिग्री कोणबाट जुगल हिमाललाई नियाल्न सकिन्छ । जुगल हिमालसहित गुफाडाँडाबाट हिउँ रित्तिदै गएका दोर्जे लाक्पा र लाङटाङ हिमशृङ्खला पनि देख्न सकिन्छ । सिन्धुपाल्चोकको अलावा विभिन्न जिल्लाका हिमालमा जलवायु परिवर्तनले पारेको असर देखाउन पनि गुफाडाँडा उपयुक्त भएकाले गुफाडाँडालाई सम्मेलनस्थल रोजिएको हो ।
‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासाथ आयोजना भएको हो । सिन्धुपाल्चोकबाट संघीय र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसद, यहाँका १२ वटै स्थानीय तहका प्रमुख/अध्यक्षसमेत सम्मेलनमा सहभागी थिए ।