सोमबार बिहान वीरगन्ज महानगरपालिकाका कार्यकारी प्रमुख झाडु लिएर सडक बढार्न थालेपछि महानगरवासी आश्चर्यमा परे।
बिहानै हातमा झाडु र मुखमा मास्क लगाएर कार्यकारी प्रमुख भिष्मकुमार भूसाल सडकमा ओर्लिएपछि मर्निङवाकमा निस्किएका सर्वसाधारणदेखि स्थानीय संचारकर्मीसमेत आश्चर्यमा परे।
कर्मचारी आन्दोलनले सडकमा जथाभावी थुप्रिएको फोहोरलाई विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा महानगरका प्रमुख प्रशासकीय अधिकृत भुसालले सफा गरेका हुन्।
नगरको सरसफाइ बन्द भएपछि सडकमा फैलिएको दुर्गन्ध व्यवस्थित गर्न सोमबार बिहानदेखि सरसफाई अभियान सुरू गरिएको कार्यकारी प्रमुख भिष्मकुमार भूसालले जानकारी दिए। उनले समाजिक अभियन्ता तथा प्रहरीको सहयोगमा सरसफाइलाई निरन्तरता दिने बताए।
सडकमा जताततै फोहोर थुप्रिएपछि सामाजिक अभियन्ता, प्रहरी र सर्वसाधारणले फोहोर उठाउन सुरू गरेका हुन्।
व्यवस्थित वीरगञ्ज अभियानका अभियन्ता, प्रहरी र सर्वसाधारणले वीरगन्जको मुर्लीदेखि बिर्तासम्मको फोहोर उठाएका हुन्।
उनीहरुले बिहान सरसफाइ कर्मचारीहरुले जसरी नै सडकमा थुपारिएको फोहोर उठाएर ट्याक्टरमा हालेर गन्तव्यमा पुर्याएका हुन्। फोहोर संकलनका लागि भाडाको ट्याक्टर प्रयोग गरिएको थियो।
सरसफाइ कर्मचारीलेसमेत काम ठप्प पारेपछि महानगर दुर्गन्धित बन्दै गएको थियो।
घण्टाघरदेखि मुर्लीचोकसम्म एक टोली र घण्टाघरदेखि दक्षिणतर्फ अर्को टोली गरी दुई टोली बनाएर सरसफाइ गरिएको थियो। दिउँसो विभिन्न वडामा जनप्रतिनिधिले यो अभियानलाई निरन्तरता दिएको भूसालले जानकारी दिए।
मुख्य सडकबाट मात्रै ५ ट्याक्टर फोहोर संकलन गरेका थिए।
कार्यकारी अधिकृत भूसाल र सामाजिक अभियन्ताले फोहोर संकलन गर्न थालेपछि स्थानीय बासिन्दाले पनि सघाएका थिए।