नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवले यदि आफू अस्पताल जानुपरेमा त्यो प्रचारको लागि मात्रै हुने बताएका छन्।
दाङको टरिगाउँ एयरपोर्टमा बिहीबार पत्रकारसँग कुरा गर्दै यादवले आफू पहिले जस्तै काममा फर्कन सम्भव नरहेको स्पष्ट पारे।
‘यदि म अस्पताल गएछु भने त्यो केवल प्रचार र मेरो टाइमपासका लागि मात्रै हुनेछ,’ डा. यादवले भने। आफ्नो उमेर, रोग र पछिल्ला समय भित्रिएका नयाँ प्रविधिले गर्दा आफू पुरानो पेशामा तत्काल फर्कन असम्भव रहेको उनले बताए। ‘डाक्टरी पेशा निकै गाह्रो पेशा हो,’ उनले भने, ‘मै अब राति १२ बजेसम्म डिउटी गर्न सम्भव छैन।’
उनले आफू अध्यनगर्दाको समय र अहिलेको समयमा प्रयोग हुने उपकरणमा धेरै फरक रहेकाले त्यो चलाउनसमेत आफूलाई कठिन हुने बताए।
आफू उमेरले ७० वर्षमा लागेको तथा क्यान्सर रोगको समेत उपचार भएर लाभ लिएको हुँदा फेरि पहिले कै जस्तो सक्रियतापूर्वक चिकित्सकीय पेशामा फर्कन सम्भव नरहेको उनको तर्क थियो।
झन्डै अढाई वर्ष अगाडि क्यान्सरको उपचार भइ आफ्नो स्वास्थ्य लाभ भइरहेको भए पनि तीन वर्षपछि मात्रै त्यसको पूर्ण अन्त्य हुने हुँदा त्यतिञ्जेलसम्म अस्पताल जान भने कठिन रहेको उनले बताए।
‘म अझैं फलोअपमा जानुपर्छ। म पेटको पनि रोगी छु। त्यसैले म अस्पताल गए पनि एक डेढ घन्टाको लागि मात्रै जान सक्नेछु,’ यादवले भने।
तर उनले आफू नाफा मुलक अस्पतालमा नजाने स्पष्ट पारे। ‘मेरो एउटा सीमा छ, म प्रोफिट मेकिङ अस्पतालमा जान्न,’ डा.यादवले भने, ‘यदि म गएछु भने सरकारी अस्पतालमै जाने छु।’
उनले काठमाडौंमा भए वीर र टिचिङमा अनि मोफसलमा भए गृह जिल्ला जनकपुरमा जान सक्ने इच्छा जाहेर गरे।
आफू नेपाली कांग्रेसबाट ट्रेन्ड भएर प्रथम राष्ट्रपति हुने सौभाग्य समेत मिलेको हुँदा कांग्रेसका नेताहरुले बीपी, गणेशमानका नामबाट खोलिएका अस्पतालमा जान सुझाएको भए पनि त्यहाँ जान नसक्ने उनले स्पष्ट पारे।
आफू बीपी, गणेशमान र महेन्द्र नारायण निधिको मात्रै नभएर अन्तिम समयमा कृष्णप्रसाद भट्टराईको पनि फिजिसयन डाक्टर भएर काम गरेको स्मरण गरे।
डा.यादवले मनमोहनको नाममा पनि अस्पताल खुलेको हुँदा ती सबैको लोकतन्त्र प्राप्तिमा ठूलो योगदान रहेको हुँदा उनीहरुको नाम वदनाम गर्न कोही पनि लाग्न नहुने धारणा राखे।
फरक प्रशंगामा उनले आफ्नो रूचि र चाहाना वातावरणीय पक्षमा काम गर्ने पनि रहेको बताए। हिमाल, पहाड र तराईको वन जंगल तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्ने वारेमा आफूलाई बढी चिन्ता लाग्ने गरेको उनले बताए। उनले समाजको सदभावलाई कसरी जोड्ने, क्षेत्रीय र जातिय सदभाव कसरी दिगो राख्ने तथा राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्ने चिन्ता रहेको बताए
त्यस्तै उनले यही संविधान लागू भएर देशका सबै समस्या समाधान हुनुपर्ने धारणा व्यक्त गरे।
केही असुन्तुष्टि रहे पनि त्यो समाधान गर्नुपर्ने उनले बताए। संघीय, प्रदेश र स्थानीय कानुन बनाएर संविधानको पूर्ण कार्यान्वय हुने उनको कथन थियो। उनले आफ्नो लागि राज्यले जे व्यवस्था गरिदिएको छ त्यो अनुरूप आफू चढ्ने बताए।
शुक्रवार दाङ घोराहीस्थित एउटा निजी विद्यालयको रजत जयन्तीका अवसरमा जिल्ला आएका पूर्व राष्ट्रपति यादव बिहीबार दाङमै बास बस्नेछन्।