उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संघीयता कार्यान्वयनको मुख्य अभिभारा फोरम नेपालको काँधमा रहेको बताएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले पार्टी सो जिम्मेवारीको लागि सडक सदन र सरकार तीनै स्थानबाट संघर्ष गरिरहेको बताएका हुन्।
वर्तमान संविधानका कतिपय धारामा हाम्रो विमति कायमै रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले संविधानमा रहेका संघीयता गणतन्त्र र मौलिक हक जस्ता विषयवस्तुहरूलाई संस्थागत गराउँदै जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको अधिकार, राज्य पुनःसंरचना जस्ता विषयहरूको लागि संघर्ष गर्दै जानु नै अहिलेको मुख्य आवश्यकता रहेको बताए।
आर्थिक क्रान्तिबिना राजनीतिक क्रान्ति सफल हुन नसक्ने ठोकुवा गर्दै उनले पार्टी अहिले राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न समेत आर्थिक क्रान्तिको बाटोमा लागेको बताए।
कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले युवाहरुको बलिदानीले स्थापित प्रदेश २ को सरकार युवाहरूकै भावना अनुसार अघि बढिरहेको उल्लेख गरे।
उनले प्रदेश सरकारको हरेक कदम मधेश आन्दोलनको मर्म अघि बढिरहेकाले नै अहिले प्रदेश सरकार ‘अप्पन शासन, अप्पन प्रशासन’को मूल मन्त्रलाई साकार पार्न प्रहरी ऐन ल्याइ सकेको र लोकसेवा ऐन ल्याउने क्रममा रहेको जानकारी दिए ।