प्रदेश नम्बर २ का वन मन्त्रालय सचिव विद्यानाथ झामाथि भएको झापड काण्डबारे छानबिन गर्न गठन गरिएको समितिले मंगलबारदेखि काम सुरू गर्ने भएको छ।
प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा गठिन समितिले भोलिदेखि मात्रै सत्यतथ्य पत्ता लगाउन काम सुरू गर्ने भएको हो।
छानबिन समितिका संयोजक समेत रहेका कानुन मन्त्री यादवले सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘हिजो भएको घटना एकदमै दु:खद हो, घटनाको विषयमा समितिले निष्पक्ष रूपले छानबिन गर्नेछ।’
उनले समितिले ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई दोषी जोकोही भेटिए कानुन अनुसार कारबाही गर्ने स्पष्ट पारे।
कानुन मन्त्री यादवले अगाडि भने, ‘पीडित पक्षले न्याय पाउनुपर्छ भन्ने कुरामा मुख्यमन्त्री ज्यू स्वयं सजग हुनुहुन्छ र मन्त्री र सचिवमध्ये जोकोही दोषी पाइए कानुन अनुसार कारबाही गरिन्छ।’
संयोजक यादवले अबदेखि यस्ता गतिविधि दोहरिन नदिनमा प्रदेश सरकार सचेत रहेको समेत बताए।
प्रदेश दुईलाई बदनाम गराउन संघीयता विरोधी तत्वहरूले चलखेल गरिरहेको कानुनमन्त्री यादवको आरोप छ।
उनले अगाडि थपे, ‘तर हामी यस्ता तत्वहरूलाई चलखेल गर्न नदिन सचेत हुनुपर्छ।’
सचिव झाले छानबिन समितिले गरेको निर्णय आफूले नमान्ने भनेका छन् नि? भन्ने प्रश्नमा संयोजक यादवले भने, ‘यो सचिव ज्यूको व्यक्तिगत विचार हो यसमा म केही भन्न सक्दिन।’
मन्त्री यादवले सामाजिक सञ्जालमा यी कुरालाई जातीयतासँग जोडिएको भन्दै यस्तो काम दरिद्र मानिसकता भएकाहरूले गरिरहेको आरोप समेत लगाए।