प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात गरेपछि तरंगित भएको जनकपुरधामको राजनीति अहिले नै शान्त हुने अवस्था देखिएको छैन।
प्रदेश दुईको दुई विपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यो मुद्दालाई लिएर सरकारलाई घेरा हाल्ने योजना बनाएका छन्।
प्रतिपक्षी कांग्रेस सचिव विद्यानाथ झाको पक्षमा उभिएको छ भने नेकपा कुटपिट गर्ने मन्त्री यादव र गालीगलौज गर्ने सचिव झा दुबैमाथि कारबाही गर्नुपर्ने माग गरेको छ।
नेपाली कांग्रेसले सचिव झाको न्यायका लागि कर्मचारीहरूले थालेको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेको छ। नेपाली कांग्रेस प्रदेश दुईका संसदीय दलका नेता रामसरोज यादवले सदन खुलेलगत्तै घटनाको सत्यतथ्य जानकारी गराउन माग गर्ने बताए।
यता नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले मन्त्री विजय यादवको राजीनामाको माग गर्दै सचिव विद्यानाथ झालाई समेत कारबाही गर्न माग गरेका छन्।
उनले कानुनी राज्यमा कसैमाथि हातपात गर्नु अपराध रहेकोले मन्त्री यादवले तत्काल राजीनामा दिनुपर्ने माग गरे। त्यसैगरी सचिव झाले समेत मन्त्री यादवको विषयमा अपशब्द प्रयोग गरेको भन्दै प्रदेशसभा सदस्य मण्डलले उनलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले घटनाको विषयमा छानबिन गर्नका लागि ज्वाइन्ट पब्लिक कमिटी (जेपीसी) गठन गर्नुपर्ने माग गरे।
यादवले सचिवमाथि हातपात गर्ने मन्त्री रहेको र सो घटनाको छानबिनका लागि बनाइएको समितिको संयोजक समेत मन्त्रीलाई नै राखिएकोमा समितिको निष्पक्षतामाथि नै प्रश्न चिन्ह खडा भएको बताए।
गत आइतबार आफूले भनेको एनजिओलाई योजना नपारेको रिसमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपिट गरेका थिए।
घटनापछि सचिव झाले न्याय पाउनुपर्ने भन्दै विभिन्न कर्मचारी संघ संगठनले आन्दोलनमा उत्रिएका छन् सचिव झा मानसिक बिरामी रहेका मन्त्री यादवले दाबी गर्दै आएका छन्।
सम्बन्धित समाचारहरू :
कार्यकक्षमा बोलाएर प्रदेश मन्त्रीले हाने सचिवलाई झापड
ढोका लगाएर कुट्न थालेपछि बच्न बाहिर निस्किएँ : सचिव झा
सचिव झापड काण्डमा मुख्यमन्त्री राउत भन्छन्- घटना सामसुम भइसक्यो