प्रदेश दुईमा दुई साता अगाडि भएको मन्त्री र सचिवबीचको झापड काण्डको सत्यतथ्य छानबिन गर्नका लागि गठित समितिले शनिबार प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।
गत पुस २९ गते प्रदेश नम्बर २ का वन मन्त्रालय सचिव विद्यानाथ झामाथि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कार्यालयमै बोलाएर थप्पड लगाएपछि प्रदेशभित्र विवाद चुलिएको थियो।
घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो।
समितिको समयावधि एक साता मात्रै दिइए पनि ११ दिन बितिसक्दा समेत छानबिनको प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।
समितिका संयोजक समेत रहेका मन्त्री ज्ञानेन्द्र यादवले समितिले छानबिन प्रकृया अन्तिम चरणमा पुर्याइसकेको जानकारी दिँदै शनिबारसम्म प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए।
सप्तरीमा भएको प्रहरी इन्काउण्टरको विषयलाई लिएर राजधानी गएकाले समितिको काम अगाडि बढ्न नसकेको उनले बताए।
उनका अनुसार बिहिबार नै मन्त्री विजय यादवको कुरा सुनेर प्रतिवेदनको अन्तिम रूप तयार पारिने छ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव समेत पार्टीको बैठकका लागि काठमाडौं गएकाले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न ढिला भएको स्वीकार गरे।
छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्न अबेर गरेपछि मन्त्रीलाई बचाउने प्रयासमा छानबिन समिति नै आरोप समेत लागेको थियो।
यो आरोपको खण्डन गर्दै मन्त्री ज्ञानेन्द्र यादवले छानबिनमा दोषी कोही देखिए पनि कानुनी कारबाही अगाडि बढाइने दाबी गरे।
आचार संहिताका अनुसार मन्त्रीले सचिवमाथि हातपात गरेको ठहरिए १ वर्ष कैद वा १० हजार जरिवाना वा दुबै सजाय हुन सक्नेछ।