प्रदेश सरकारले धनुषाको सबैलामा करेन्ट लागेर मृत्यु भएका परिवारलाई राहत स्वरूप जनही १/१ लाख रुपैयाँ दिने भएको छ।
सबैलाको कोठिया बल्टियामा जन्ती जाँदै गरेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह भएपछि ६ जनाको शुक्रबार बेलुका ८ बजेतिर मृत्यु भएको थियो।
घटना दुःखद रहेको भन्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रति परिवार तत्कालका लागि एक लाख रुपैयाँ राहत स्वरूप प्रदान गरिने जानकारी दिए।
मन्त्री यादवले विद्युतका कारण केही दिनयता घटना बढेको भन्दै त्यसको दीगो समाधानका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिएका छन्।
उनले भने,‘आफू अहिले काठमाडौंमा छु, जनकपुरधाम आएलगत्तै यसको समाधान तथा विद्युतीय तारहरूको मर्म्मत सम्भारको दिशामा प्रदेश सरकारले कदम उठाउने छ।’
केही दिन अगाडि मात्रै करेन्ट लागेर जनकपुरधाम वडा नम्बर १२ कुवामा दुई जनाको मृत्यु भएको थियो।
आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहा घटनामा परी घाइते भएकाहरूलाई भेट्न जनकपुर अञ्चल अस्पताल पुगेका छन्।