उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतको रवैयाप्रति असन्तुष्टि जनाएका छन्।
मुख्यमन्त्री राउत स्वयं प्रदेश विकासको बाधक रहेको आरोप लगाउँदै मन्त्री यादवले असन्तुष्टि जनाएका हुन्।
संघीय सरकार तथा प्रदेश सरकारबीच प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा रहेको जनकपुर चुरोट कारखाना फेरि सञ्चालनमा ल्याउने सहमति भए पनि प्रदेश सरकार नै त्यसका लागि बाधक रहेको आरोप लगाए।
आइतबार जनकपुरधाममा एक पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले प्रदेश सरकारले सहमति एउटा गर्ने र व्यवहार अर्को देखाउने चरित्रको रहेको आरोप लगाए।
सरकारले जनकपुर चुरोट कारखाना लिमिटेड बन्द गर्ने घोषणा समेत नगरेको अवस्थामा प्रदेश सरकारले त्यसको बोर्डसम्म फाल्न लगाएको उनको आरोप छ।
उनले जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनका लागि सत्तारूढ संघीय समाजवादी फोरम नेपाल लगायत सबै दल सहमत रहेको बेला विनाजानकारी नै गैरकानुनीरूपमा कारखानाभित्रको परिसरहरू धमाधम कब्जा गरिरहेको र कारखाना संचालनमा अवरोध सृजना गर्ने मनसायले मधेश आन्दालेनको नाममा उद्योग संचालनको बाधक बनेको उनले बताए।
उनले व्यंग्य गर्दै भने, ‘म अहिले मुख्यमन्त्रीले यो परिसरमा लगाएको बोर्ड फाले भने आफूमाथि पनि मधेश विरोधी रहेको ‘ट्याग’ लगाइने छ।’
उनले कारखाना संचालनका लागि ४ जना चाइनिज र २ जना भारतीय लगानीकर्ताहरूसंग निरन्तर सम्वाद र सम्पर्कमा रहेको बताउँदै भने, ‘विदेशी लगानीकर्ताहरू कारखाना अनुगमन गर्न जनकपुर आइरहेको बेला कारखानाको बोर्ड समेत हटाएर कारखाना संचालनप्रति गम्भीर नहुनु दु:खद रहेको बताए।
कारखानालाई पब्लिक–प्राइभेट पार्टनरसीप अनुसार चलाउने तयारी स्वरूप छलफलहरू विभिन्न चरणमा जारी रहेको मन्त्री यादवले जानकारी गराए।
यता मन्त्री यादवले विद्युत प्राधिकरणको चरम लापरवाहीले धनुषाको सबैला घटना घटेको बताएका छन्। यस घटनाको सत्य तथ्य बाहिर ल्याउनका लागि छानबिन समिति गठन हुने समेत बताए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले छानबिन समितिले यहाँको कर्मचारी तथा हाकिमको काम कारबाहीको बारेमा अध्ययन अनुगमन गरी कारबाहीको लागि प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।
यस घटनाको विषयमा आफूले उर्जामन्त्री वर्षमान पुनसँग छलफल गरेको बताउँदै भने,‘मन्त्रीजी यस प्रकारको समस्या समाधानका लागि गम्भीर हुनुहुन्छ।’
धनुषाको सबैला नगरपालिकास्थित बल्टियामा गत शुक्रबार राति करेन्ट लागेर ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।