प्रदेश दुईको नाम र राजधानीको टुंगो लगाउन प्रदेश दुई सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग समितिले सुझाव संकलन गरिसकेको छ।
सुझाव संकलन पछि अहिले आयोगका पदाधिकारीहरू प्रतिवेदन तयार पार्न व्यस्त छन्।
गत कात्तिक ११ गते गठन गरिएको संवाद तथा सुझाव आयोगले मंसिर २० गते पर्साबाट सुझाव संकलनको कार्य सुरू गरि माघ ६ गते सर्लाहीमा पुगेर टुंगिएको थियो।
सुझाव संकलन भएपछि त्यसको अन्तिम प्रतिवेदन तयार पार्ने काम भईरहेको संवाद तथा सुझाव आयोगका संयोजक हरिवंश झाले सेतोपाटीलाई जानकारी दिए।
सुझाव संकलनको कार्य माघ ६ गते सकिए पनि अन्तिम प्रतिवेदन तयार पार्न अझै केही दिन लाग्ने संयोजक झाले बताए। ‘आठ वटै जिल्लाबाट विभिन्न राजनीतिक दल, संघ संस्था तथा बुद्धिजीको भिन्न भिन्न विचार आएकाले त्यसको सारमा प्रतिवेदन तयार पार्न केही दिन अझै लाग्नेछ,’ उनले भने।
प्रदेशको नाम र राजधानीको सवालमा दलहरूबिच सहमति बनाउन प्रदेश सरकारले झाको नेतृत्वमा कात्तिक ११ गते ४५ दिनको समयावधि दिएर संवाद तथा सुझाव समिति बनेको थियो।
त्यसपछि माघ २५ गतेसम्मका लागि समयावधि प्रदेश सरकारले थप गरेको थियो।
आयोगका संयोजक हरिवंश झाले प्रदेश सरकारले तोकेको माघ २५ गतेको समयावधि भित्रै अन्तिम प्रतिवेदन तयार पारेर बुझाउने बताए।