संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन्।
तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख महराले प्रक्रिया पुर्याएर पारित भएको विधेकलाई आन्दोलनको विषय बनाउनु सही मान्न नसकिने बताएका हुन्।
प्रतिपक्षको सहमतिमा समितिमा प्रयाप्त छलफल भएर पारित भएको विधेयक संसदमा पनि असहमति जनाएको भए पुग्नेमा संदनमै अवरोध गराउन खोज्नु गतल भएको महराले बताए।
‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’– महराले भने, ‘एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो।’
उनले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु भनेको प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे।
फरक प्रसंगमा सभामुख महराले कर्मचारीकै कारण दाङको एक मात्रै विमानस्थल टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो आउन ढिलाई भएको बता।
‘अस्थायी ईन्धन डिपो ल्याउने भन्ने विषयमा आयल निगमसँग मन्त्री र सचिवले तोक लगाइसक्नुभएको थियो,’ महाराले भने, ‘तर, कर्मचारीले त्यो फाईल गायब बनाएपछि ढिलाई भएको हो।’
यद्यपी उनले पुनः दाङमा अस्थायी इन्धन डिपो ल्याउने प्रक्रिया शुरु भइसकेको जानकारी दिए। ‘अब इन्धन डिपो तत्कालै आउँछ,’ महराले भने, ‘म कर्मचारीतन्त्रसँग सजग भइसकेको छु।’
उनले विमानस्थलमा टर्मिनल भवन निर्माणको पक्रिया पनि अघि बढिसकेको जानकारी दिए। यसैबीच टर्मिनल भवनको सोमबार सिलान्यास गर्न लागिएको उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले जानकारी दिएका छन्।