प्रदेश दुईको प्रदेशसभाको एक वर्ष पूरा भएको छ।
प्रदेशसभाको वर्ष दिन पूरा भएको अवसरमा प्रदेशसभा भवन परिसरमा साँस्कृतिक कार्यक्रम, रक्तदानसहितका कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाइएको छ।
प्रदेशसभा सचिवालयले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य समेत राखेका थिए।
प्रदेशसभाको वार्षिकोत्सव मनाइरहेकै बेला सत्तापक्षका नेताहरूले प्रदेशसभाले गत एक वर्षको अवधिमा उल्लेख्य काम गरेको दाबी गरे भने प्रतिपक्षी नेताहरूको मिश्रित प्रतिक्रिया देखियो।
नेकपाका प्रदेशसभा सदस्य मञ्जु यादव प्रदेशसभाको कामबाट आफूलाई सन्तोष गर्नुपर्ने ठाउँ नरहेको प्रतिक्रिया दिइन्। उनले प्रदेशसभामा जुन जुन विषयले प्राथमिकता पाउनुपर्ने हो त्यसले प्राथमिकता पाउन नसक्नु दुःखद पक्ष रहेको बताइन्।
प्रदेशसभा सदस्य यादवले प्रदेशको नाम र राजधानीको विषयमा प्रदेशसभाबाट कुनै ठोस कदम नउठाइएकोले प्रदेशको जनतामा समेत निराशा छाएको दाबी गरिन्।
उनले भनिन्, ‘३ सय ६५ दिनमा ७३ वटा बैठकमात्रै बस्नुले पनि दर्शाउँछ हामी कति असंवेदनशील छौं।’
प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत रहेका राजपाको संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश दुईको प्रदेशसभाले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै अगाडि बढेको दाबी गरे।
उनले प्रदेशसभाबाट १६ वटा विधेयकहरू सर्वसम्मतिले पारित हुनु हाम्रो लागि ठूलो उपलब्धि रहेको दाबी गरे।
यता, मन्त्री सोनलले संघीय सरकारको रवैयाका कारण जुनगतिले काम गर्नुपर्ने हो त्यो गर्न नसके पनि आउने दिनमा चुनौतीहरूलाई पार गर्दै थप सुदृढ हुँदै अगाडि बढ्ने आश्वासन दिए।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारको कामबाट आफूहरू सन्तुष्ट नरहे पनि प्रदेशसभाको कामबाट सन्तुष्ट रहेको बताए।
उनले भने, ‘म यो प्रदेशसभाको एक वर्षको काम देखेर १० मध्ये साढे ८ मार्क दिएको छु।’
उनले प्रदेश दुईको प्रदेशसभा प्रजातान्त्रिक तरिकाले अगाडि बढेकोमा खुसी व्यक्त गरे।
नेकपाका सत्य नारायण मण्डलले प्रदेशसभा जुन हिसाबले चल्नुपर्ने थियो त्यो हिसाबले प्रदेश सरकारका कारण चल्न नसकेको दाबी गरे। उनले प्रदेश प्रहरी ऐनको कुनै आवश्यकता नरहेको समयमा यो ऐन ल्याउनु दुःखद पक्ष रहेको बताए।