सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका सांसद उत्तरकुमार वलीलाई थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ।
कोहलपुर मेडिकल कलेजमा उपचाररत सांसद वलीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको उनका स्वकिय सचिव एमएन शाहले सेतोपाटीलाई जानकारी दिए।
‘काठमान्डौंबाट भेन्टिलेटर र चिकित्सकसहितको हेलिकोप्टर मागिएको छ,’ स्वकिय सचिव शाहले भने, ‘अबको केही बेरमै माननियज्यूलाई काठमाडौं लैजाने तयारी गरिएको छ।’
यसअघि छिमेकी देश भारतमा लैजान भन्दै त्यहाँबाट भेन्टिलेटरसहितको एम्वुलेन्स मागिएको थियो। ‘मौसमले साथ नदिएको हुँदा रातारात भारतबाट उक्त एम्वुलेन्स मागिएको थियो, तर, आज बिहान मौसममा केही सुधार आएको हुँदा हेलिकोप्टरबाट काठमाडौं लैजाने निर्णय भएको हो,’ शाहले भने।
प्रधामन्त्री केपी शर्मा ओली र ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगाएतका नेकपा र अन्यदलका शीर्ष नेताहरुले पनि सांसद वलीको थप उपचारको लागि चासो र चिन्ता व्यक्त गरेको शाहले जानकारी दिए ।
दुर्घटनामा परि गम्भीर घाइते अवस्थामा भेन्टिलेटरमा राखेर उपचाररत सांसद वलीको स्वास्थ्यमा पछिल्लो समय केही सुधार आएको शाहले बताए। ‘चिकित्सकले केही सुधार आएको जानकारी दिएका छन्,’ शाहले भने ‘मुटुको धडकन चलेको, स्वाप्रश्वासमा सुधार आएको तथा रक्तसंचारमा समेत सुधार आएको भन्ने छ।’
यद्यपी अझैं पनि सांसद वलीको भेन्टिलेटरमै राखेर उपचार भइरहेको हुँदा खतरा टरिनसकेको भन्ने जानकारी चिकित्सले दिएको शाहले बताए।
तत्कालिन नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. ३ को २ बाट प्रदेशसभामा सदस्यमा निर्वाचित सांसद वली बिहीबार अस्थायी राजधानी बुटवलबाट तुलसीपुरस्थित घर तर्फ फर्कदै गर्दा दुर्घटनामा परेका थिए।
घोराही–लमही सडक खण्डको चिसापानी भन्ने स्थानमा भएको दुर्घटनामा परि रूकुम पश्चिमको खलंगा गाउँपालिका नं. २ मुसिकोट निवासी ३६ वर्षीया रमिता शर्माको घटनास्थलमै मृत्यु भएको थियो।
दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले बिहीबार पानी परिहरको समयमा पौने ५ बजेतिर सांसद वली सवार कारलाई यात्रुबहाक बसले ठक्कर दिँदा वलीसँगै थप १३ जना घाइते भएको जानकारी दिए ।
सांसद वलीलाई हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको तथा छातिका ५ वटा करङ पनि भाँचिएको भन्ने खबर चिकित्सकले दिएको स्वकीय सचिव शाहले बताए।
‘करङ भाँचिदा शरीरका भित्रि अंगमा पनि क्षति पुगेको हुँदा अवस्था जटिल छ भन्ने जानकारी चिकित्सकले दिएका छन्,’ शाहले भने, ‘तर, हिजोको भन्दा स्वास्थ्यमा उल्लेखनीय सुधार आएको भन्ने जानकारी दिइएको छ।’
उक्त दुर्घटनाका घाइते मध्ये बसमा सवार थप एक जना घाइतेलाई लमहीको उपचारपछि थप उपचारको लागि बुटवल लगिएको भए पनि अवस्था सामान्य रहेको भन्ने खबर आएको एसपी पाण्डेले जानकारी दिए। अन्य सबै उपचार पछि घर फर्किसकेको प्रहरीले बताएको छ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्वरको यात्रुबहाक बसले लमहीबाट घोराही तर्फ आउँदै गरेको सांसद वली सवार बा १८ च ६८३६ नम्वरको कारलाई घोराही ३ स्थित चिसापानी भन्ने ठाउँमा ठक्कर दिएको थियो।
कारमा सांदस वली र अर्का युवा लिला विक मात्रै सवार थिए। विक उपचारपछि घर गइसकेको प्रहरीले जानकारी दिएको छ।
कार सांसद वलीले आँफै चलाएका थिए । कारमा सवार २ जना र बसमा सवार १२ जना गरि कुल १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिइएको छ।