प्रदेश दुईको सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरू भएको दोस्रो वर्ष हुन लाग्यो । तर कार्यान्वयन पक्ष अहिले पनि फितलो नै देखिएको छ ।
गत भदौ १५ गते प्रदेश सरकारले औपचारिक कार्यक्रमको आयोजना गर्दै बडो तामझामका साथ अभियानको सुरूआत गरियो। प्रदेश सरकारले आफ्नो बजेटबाट ठूलो राशी ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानकै लागि छुट्याएको छ।
आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट प्रदेश सरकारले यस अभियानका लागि ८९ करोड रकम छुट्याएको छ। तर प्रदेश सरकारको यो अभियान कार्यान्वयनमा आउन नसकेकोमा स्थानीयहरू दुःखी छन्।
कन्या माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएकी शिक्षिका पूजा यादवले प्रदेश सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रशंसनीय रहे पनि यसलाई कार्यान्वयनमा ल्याउन भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरिन्।
कानुनी प्रकृया पूरा गर्न समय लाग्ने भएकोले कार्यान्वयनमा ल्याउन केही समय लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता टिकामणि न्यौपानेले सूचना निकालेर एक महिना समय दिनुपर्ने, त्यसको मूल्यांकन गर्नुपर्ने, करार गर्नुपर्ने, धरौटी राख्न लगाउनु पर्ने जस्ता प्रकृया पूरा गर्न समय लाग्ने भएकोले कार्यान्वयनमा ल्याउन केही ढिलाइ भएको स्वीकार गरे। उनले यो कार्यक्रम प्रचारमुखी नभई ठोस देखिने गरी कार्य अगाडि बढाइएको दाबी गरे।
संस्कृतिविद एवं विश्लेषक डा. भोगेन्द्र झाले यस प्रकारको अभियानलाई प्रभावकारिता प्रदान गर्नका लागि भौतिक भन्दा पनि सचेतना आवश्यक रहेको बताए।
आर्थिक पाटो यसको लागि त्यति महत्त्वपूर्ण नरहेको बताउँदै उनले यसको विषयमा सचेतना जनजन समक्ष पुर्याउनु आवश्यक रहेको बताए।
छोरी बीमा कार्यक्रमको उद्घाटन राष्ट्रपतिले गर्ने
‘बेटी पढाउ बेटी बचाउ’ अभियान दुई वर्ष हुनै लाग्दा कार्यान्वयनमा नआएपछि सरकारको आलोचना बढ्दै गएको छ। आलोचनाका बीच प्रदेश सरकारले छिट्टै कार्यान्वयनमा लाने प्रकृया सुरू गरेको छ।
पहिलो चरणमा छोरी बीमा कार्यक्रम र एसइईमा उत्कृष्ट अंक ल्याउने आठ वटै जिल्लाबाट उत्कृष्ट ३ वटा छात्रालाई सम्मान र छात्रवृति प्रदान गर्ने कार्यक्रम रहेको छ। यस वर्ष आठ वटै जिल्लाबाट कूल २८ छात्रालाई सम्मान गर्ने निश्चित गरिएको छ।
छोरी बीमा कार्यक्रमको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ।
फागुन ९ गते वीरगञ्जस्थित युद्ध माविमा आयोजना हुने सो कार्यक्रममा राष्ट्रपति भण्डारीले छात्राहरूलाई सम्मान गर्दै छोरी बीमा कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको बेटी पढाउ बेटी बचाउ कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिइन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बेटी पढाउ बेटी बचाउ अभियानलाई कार्यान्वयन तहमा ल्याउनका लागि विभिन्न ७ वटा शिर्षकमा काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन्।
प्रदेशमा छात्राहरू सवारी साधनको अभावमा विद्यालयसम्म पुग्न नसकेको प्रदेश सरकारको ठहर रहेको छ। सोही अनुरूप प्रदेश सरकारले छात्राहरूका लागि साइकल वितरण गर्ने लक्ष्य समेत लिएको छ।
महिलामैत्री शौचालय निर्माण गरिने
प्रदेशको अधिकांश विद्यालयहरूमा महिलामैत्री शौचालयको अभाव रहेको छ। शौचालय भए पनि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। त्यसकारण पनि छात्राहरू विद्यालय जान मान्दैनन्। शौचालयकै कारण छात्राहरूको विद्यालयमा उपस्थिति न्यून हुन थालेपछि प्रदेश सरकारले विद्यालयहरूमा महिलामैत्री शौचालय निर्माण गर्ने लक्ष्य लिएको छ।
बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत नै १ सय वटा सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरिने कार्यक्रम संयोजक यादवले जानकारी दिइन्। यसका लागि विद्यालयहरूको छनोट अन्तिम चरणमा रहेको उनको भनाइ छ।
अभियानको विषयमा सचेतना जगाउनका लागि ठाउँ ठाउँमा होर्डिङ बोर्ड लगाउने लक्ष्य समेत लिइएको छ। पहिलो चरणमा प्रदेश सरकारले ६० स्थानमा होर्डिङ बोर्ड लगाउने छ।
छात्राहरूलाई साइकल वितरण गरिने
बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेश सरकारले आठ वटै जिल्लाबाट कूल ४ हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिएको छ । साइकल वितरण गर्ने कार्यक्रम फागुन १ गतेदेखि सप्तरीबाट सुरू हुन लागेको छ।
सो कार्यक्रम सप्तरीको जागेश्वर गोडहरी जनता माविमा आयोजना हुने कार्यक्रमसँगै शुभारम्भ गरिने छ। सप्तरीमा हुने सो कार्यक्रममा ७० वटा साइकल वितरण गरिने कार्यक्रम संयोजक यादवले जानकारी दिइन् ।