दाङ,माघ २६
मानव अधिकार तथा शान्ति समाज दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति पहाडीले नेपालको राजनीतिमा रिक्तता देखापर्न थालेको हुँदा त्यो रिक्तस्थान भर्नको लागि शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका हुन्।
अब पनि विप्लव शान्तिपूर्ण र रचनात्मक आन्दोलनमा नआए उनको भविष्य समाप्त हुने पहाडीले दाबी गरे।
‘पुरानो दलदलको हिंसाको मार्गतर्फ अब फेरि लाग्ने सोच नपाल्नुहोस्,’ पहाडीले भने, ‘त्यो गलत बाटोलाई त्यागेर शान्ति प्रक्रियामा नआए तपाईंको भविष्य समाप्त हुनेछ।’
इतिहासबाट पाठ सक्न आवश्यक रहेको अधिकारकर्मी पहाडीले बीपीले पनि कुनै दिन हिंसात्मक आन्दोलन गरेको भए पनि त्यो गलत थियो भन्ने बीपीले स्वीकार गरेको उनले स्मरण गरे।
बीपी कोइरालाले हिंसात्मक आन्दोलन गलत भएको स्वीकार गरेकै कारण २०३३ सालमा मेलमिलापको नीतिका साथ स्वदेश फर्किएको पहाडीले बताए।
त्यसैको परिणामस्वरूप २०३६ सालमा लोकतन्त्रको ठूलो आन्दोलन सुरू भएको उनले बताए।
नेकपा नेकपा एमाले/मालले पनि विगतमा कुनै समय हिंसात्मक आन्दोलनमा लागेको भए पनि उसले पनि त्यो गलत हो भन्ने स्वीकार गर्दै २०४६ सालमा शान्तिपूर्ण आन्दोलनमा आएको उनले स्मरण गरे। ठीक त्यसैगरी सशस्त्र हिंसात्मक आन्दोलन गरेको तत्कालीन माओवादीले त्यो गलत थियो भन्ने आत्म स्वीकारोक्तिका साथ १२ बुँदे सहमतिमार्फत् हामी गलत बाटोमा रहेछौं भन्दै शान्तिपूर्ण आन्दोलनमा आएको उनको भनाइ थियो।
नेपाली जनताले जहिले पनि शान्तिपूर्ण मार्ग रोजेको भन्दै उनले विगतको गलत मार्ग छोडेकै कारण जनताले अनुमोदन गरेको पहाडीले तर्क गरे।
‘जब इतिहास यस्तो छ भने विप्लवजी तपाईं फेरि पुरानो दलदलमा किन फर्कनु हुन्छ,’ उनले भने, ‘राजनीतिमा जो भ्याकुम देखापर्न थालेको छ त्यो भर्नको लागि हिंसाको राजनीतिमा बिर्सेर पनि नजानुहोस्।’
नेपाली जनताले विगतमा गरेको हिंसाको अनुमोदन गरेको नभई गलत बाटो त्यागेर शान्तिपूर्ण मार्गमा आएका कारण अनुमोदन गरेको स्मरण गर्दै उनले विप्लवलाई पनि हिंसाको बाटो नरोज्न आग्रह गरेका हुन्। ‘विप्लवजी यदि तपाईं हिंसाको मार्गमा जानु भएको छ भने पनि फर्केर आउनुहोस् म दाङबाट आग्रह गर्छु,’ पहाडीले थपे ‘ तर, सरकारले पनि अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ। वार्ताको ढोका जहिले खुला राख्नुपर्छ।’
खराब अभिभावकले गलत आचरण प्रदर्शन गर्ने हुँदा सत्तासिनहरू जहिले पनि सकारात्मक आचारणको भूमिका खेल्नुपर्ने उनको कथन थियो।