नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन्।
नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नभएको बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलन र जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिएकै दिन जनकपुर पुगेका नेता नेपालले त्यो प्रचण्डको निजी निर्णय भएको बताएका हुन्।
‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं,’ उनले भने।
धुम्बाराहीमा भएको कार्यक्रममा अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिएनन्।
उनले पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको बताए।
नेता नेपालले कुनै नेताको एकल निर्णयले मनाइएको जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै सक्दैन भन्ने दोहोर्याए।
उनले जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्नुपर्ने धारणा राखे।
एक अर्को प्रसंगमा नेता नेपालले सरकारले एक वर्षको अवधिमा गरेको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।
उनले सबै नेपालीललाई नेपालको नागरिकता पाउने अधिकार रहेको बताए। पार्टीभित्र पनि नागरिकतासम्बन्धी विधेयक छिट्टै सदनबाट पास गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै नेता नेपालले नागरिकता दिने नाममा विदेशीलाई नागरिकता दिन नहुने बताए।