नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश दुईको नामाकरण र भाषाको टुंगो लगाउने क्रममा षडयन्त्र भए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
आइतबार जनकपुरधाममा कांग्रेस नगर समितिको नगर सम्मेलनलाई सम्बोधन गर्दै निधिले नामाकरण र भाषाको विषयमा टुंगो लगाउन ढिलाई भईरहेको भन्दै षडयन्त्र गरिए कडा प्रतिवाद र आन्दोलन गर्ने चेतावनी दिए।
प्रदेशको नामाकरण र भाषाको सवालमा प्रदेश सरकारलाई दवाब दिन प्रदेशसभा सदस्यहरुलाई उनले आग्रह गरे। निधिले प्रदेशको नामाकरणमा ढिलाई भईरहेकोले यसका लागि दवाव श्रृजना गर्नु आवश्यक रहेको बताए।
सम्मेलनमा बोल्दै कांग्रेस उपसभापति निधिले प्रदेश दुईको नाम मिथिला–भोजपुरा अतिरिक्त अन्य कुनै नाम कांग्रेसलाई मान्य नहुने बताए।
उनले प्रदेश दुईको ऐतिहासिक र सांस्कृतिक भूमिसँग मिथिलाको इतिहास र पहिचान जोडिएकोले प्रदेशको नाम मिथिला–भोजपुरा हुनुपर्ने स्पष्ट गरे ।
उनले नेपाली पछि सर्वाधिक बोलिने दोस्रो भाषा मैथिली रहेको भन्दै प्रदेशको भाषा मैथिली हुनुपर्ने बताए। उनले भने, ‘भोजपुरी लगायतका अरू भाषा पनि राख्न सकिन्छ। तर, पहिलो ग्राह्यता मैथिलीलाई दिनुपर्छ ।’
निधिले वीरगन्जस्थित बिपी उद्यानको जग्गा प्रदेश सरकारले पूर्ववत् बिपी उद्यानकै नाममा फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत दिए।
उनले संघ सरकार लोकतन्त्र र संघीयता विरोधी रहेको चर्चा गर्दै संघ र प्रदेश सरकारले एक वर्षमा गरेको जन विरोधी क्रियाकलापको विषयमा जनतालाई बुझाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।