संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम मिँया अन्सारीले नक्कली नागरिकता बनाएको खुलेको छ।
अन्सारीसँग नक्कली नागरिकता र नक्कली सर्टिफिकेट रहेको उजुरी संसदीय सुनुवाइ समितिमा परेको थियो। समितिले मंगलबार उनीविरुद्धको उजुरी छानबिन गर्ने निर्णय गरेको थियो।
अन्सारीले संवैधानिक परिषदमा बुझाएको नागरिकताको प्रतिलिपीमा उनको जन्ममिति २०३० असोज २४ उल्लेख छ। उनले २०५५ साल पुस २२ गते काठमाडौं महानगरपालिका- ९ बाट नागरिकता लिएको विवरण परिषदमा पेश गरेका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रहेको ढड्डामा भने उनको जन्ममिति २०३७ साल असोज २४ गतेको देखिन्छ। साथै उनको वडा नम्बर पनि १९ उल्लेख छ। जिल्ला प्रशासनको अर्को एक ढड्डामा २०३७ सालको अन्तिम अंक ७ लाई केरमेट गरिएको छ। सातलाई केरेर ० बनाइएको देखिन्छ।
नागरिकतामा फरक-फरक जन्ममिति र वडा नम्बर देखिएपछि संसदीय सुनुवाइ समितिले अन्सारीलाई अस्वीकृत गर्ने तयारी गरेको छ। उनीमाथि सर्टिफिकेट समेत नक्कली बनाएको आरोप लगाएको छ।
अन्सारीविरूद्ध समितिमा चार वटा उजुरी परेका थिए।
अन्सारी विगतमा मधेश केन्द्रीत दल राजपाबाट राजनीतिमा सक्रिय थिए। गत वर्षको स्थानीय चुनावअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। एकीकरणसँगै उनी नेकपाका केन्द्रीय सदस्य बने। उनी निर्वाचनका बेला तत्कालिन एमालेबाट समानुपातिक तर्फ मुस्लीममा बन्द सूचीको एक नंम्बरमा सिफारिसमा परेका थिए। निर्वाचनको बन्दसूचीम रहन दलको सदस्यको अनिवार्य हुने व्यवस्था छ। निर्वाचन आयोगको स्रोतको अनुसार बन्द सूचीबाट नाम हटाउन निवेदन परेको छैन।
उनले सिफारिसका बेला राजनीतिक दलको सदस्यता नत्यागेका कारण पनि उनको सिफारिस अनुमोदन नगर्ने पक्षमा समिति छ। कुनै दलको सदस्यता भएको व्यक्तिलाई संवैधानिक आयोगको अध्यक्ष सिफारिश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ।
नेताको फेरो समातेर माथि जान खोजेको भन्दै नेकपाका कतिपय सांसदहरू अन्सारीलाई रोक्ने पक्षमा छन्।