उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अबको ५ वर्ष भित्र मागेको जति विद्युत उपलब्ध गराउने दाबी गरेका छन्।
बिहिबार बबई गाउँपालिका वडा नं. ६ स्थित च्याँटी खोलामा निर्मित कुसुम हापुरे १३२ केभी प्रसारण लाईन आयोजनाको उद्घाटन गर्दे मन्त्री पुनले आगामी ५ वर्ष भित्र सरकारले मागे जति र भनेको ठाउँबाट हरेक जनतालाई विद्युत उपलब्ध गराउन सक्ने दाबी गरे।
उनले तीन वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने जिकिरसमेत गरे। त्यो उद्धेश्य पुरा गर्न सरकार नीतिका साथ काम गरिरहेको उनले बताए।
‘अस्ति मात्रै प्रधानमन्त्रीले डडेलधुरामा सवस्टेसन उद्घाटन गर्नुभयो, हिजो मैले कैलालीको पहलमान पुरमा उद्घाटन गरेँ र आज मैले बर्दियाको भुडिगाउँ र दाङको हापुरेमा शवस्टेसन उद्घाटन गरेँ अनि म भोलि सल्यानको सव स्टेनस उद्घाटन गर्न जाँदैछु। यो भनेको अब देश लोडसेडिङ मुक्त बन्दै गरेको लक्षण हो,’ पुनले भने।
नेपालको जलस्रोतलाई संवृद्धिको आधार बनाउने बताएका उनले तीन वर्ष भित्र हरेक नेपालीलाई जलविद्युतको पहुँचमा पुर्याउने दाबी गरे।
‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ हरेक नेपालीलाई विद्युतको शेयर धनी बनाउने उद्धेश्य उनले प्रस्तुत गरे।
कम्तिमा दश हजारदेखि दश लाखसम्मको शेयर हरेक जनताले किन्न पाउने व्यवस्था गरिने मन्त्री पुनले बताए। त्यो शेयरबाट जनताले आफ्ना नानीलाई पढाउन सक्ने तथा आफ्नो पढाई खर्चको जोहो गर्ने गरी मासिक रुपले आर्जन गर्न सक्ने मन्त्री पुनले सम्भावना औंल्याए।
त्यस्तै उनले त्यही शेयरलाई पेन्सन जीवनको उतरार्धमा जनताले पेन्सन जस्तो बनाउन सक्ने धारणा राखे। त्यहीबाट बृद्ध भत्ता तथा भरणपोषणका कामहरु जनताले गर्नसक्ने उनको तर्क थियो।
जनताको जलविद्युत आयोजना अगाडि बनाउनुको उद्धेश्य जनतालाई आयआर्जनसँग जोड्नु नै रहेको उनको कथन थियो।
एउटा उडान भर्ने खालको आर्थिक विकासको बाटोमा दौडने खालको तयारी गरिरहेको दाबी गरेका मन्त्री पुनले कम्तिमा ३५ मेगावाटको लागि ७ खर्ब रूपैँया जनताको पैसा जलविद्युत उत्पादनमा केन्द्रीत गर्ने बताए।
राष्ट्र निर्माण केही मान्छेको सहभागिताले केही विदेशी लगानीमा मात्रै नभइ सारा देशवासीको लगानीमा देशलाई सम्वृद्धिमा लैजाने उनले बताए। यसले एकातिर हरेक नागरिक सम्वृद्धि बनाउने र अर्कौतर्फ देशलाई भावनात्मक एकतामा जोड्न मद्दत पुग्ने उनले बताए।
त्यस्तै उनले पहाडी क्षेत्रबाट बग्ने खोलामा विद्युतका योजना धमाधम निर्माण गर्न अध्ययन सुरू भइरहेको पुनले बताए।
मन्त्री पुनले अब सबैभन्दा कम मूल्यमा ठेक्का दिने प्रवृतिको अन्त्य गरिने बताए। ‘सबैभन्दा विलोमा टेन्डर भर्नेलाई कामको जिम्मा लगाउँदा समयमा काम नभएको मात्रै छैन, निर्माणको काम पनि राम्रो हुन सकेको छैन,’ मन्त्री पुनले भने, ‘राम्रा काम गर्ने ठेकेदारलाई छानेर मात्रै काम दिनेछौं।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयले जारी गरेको स्वयत पत्र अनुसार हरेक नागरिकलाई अबको दुई वर्षदेखि चार वर्ष भित्र विद्युत उपभोग गर्न पाउने गरि काम थालिएको घिसिङले दाबी गरे। तर, उनले विद्युत चोरी नियन्त्रणमा लाग्नु पर्ने सुझाए।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कुसुम हापुरे १३२ केभी प्रसारण लाइनका उपप्रमुख बज्रभुसन चौलागाँइले प्रशारण लाईन उद्घाटन हुनुले दाङको सम्वृद्धिको ढोका खुलेको तर्क गरे।
आयोजनाको निर्माण कुल खर्च ४३ करोड २२ लाख ६७ हजारमा भएको उनले जानकारी दिए। उनले ६० मेगावाटसम्म सिमेन्ट उद्योगले विद्युत माग गरेको जानकारी दिए।