सवारी दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा उपचाररत प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ।
सांसद वलीको शुक्रबार बिहान १ बजेतिर उपचारका क्रममा काठमाडौंको मेडसिटी हस्पिटलमा निधन भएका उनका स्वकीय सचिव एमएन शाहले सेतोपाटीलाई जानकारी दिए।
नागरिकता अनुसार उनको जन्ममिति २०४१ उल्लेख छ। ३४ वर्षको उमेरमा उनको निधन भएको हो। यद्यपी उनलाई नजिकबाट चिन्नेहरु भने उनको उमेर झन्डै ४० को हाराहारीमा रहेको बताउँछन्।
२४ गते बेलुका बुटवलस्थित अस्थायी राजधानीबाट बैठक बसी दाङस्थित घर तर्फ आउँदै गरेका प्रदेश सांसद वली लमही घोराही सडक खण्डमा दुर्घटनामा परेका थिए।
घोराहीबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिएको थियो।
सांसद वली आफैंले कार चलाएका थिए ।
दुर्घटना लगतै वलीलाई लमहीको प्रारम्भीक उपचार पछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेजमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो। दुर्घटना भएको १६ दिनसम्म कोमामा रहेका सांसद वलीको शुक्रबार बिहान मृत्यु भएको हो ।
पूर्वएमालेबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए। वलीले नेपाली कांग्रेसका पूर्व सांसद बुद्धिराम भण्डारी भन्दा झन्डै ७ हजार बढी मत प्राप्त गरेका थिए।
दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी सांसद वली २०६४ सालको निर्वाचनमा पनि उम्मेदवार थिए। तर त्यतिबेला उनी पराजित भएका थिए।
यसैबीच सांसद वलीको शव हेलिकोप्टर मार्फत दाङ ल्याउन लागेको स्वकीय सचिव शाहले जानकारी दिएका छन्।
वलीको मृत्युको खबरले दाङमा नेकपाका नेता कार्यकर्ता शोकमा डुवेका छन्। वली एक हक्की स्वभावका नेता मानिन्थे।
उक्त दुर्घटनामा परी बसमा सवार रूकुम घर भएकी रमिता शर्माको पनि मृत्यु भएको थियो।
यो पनि :
सांसद वलीको अन्त्येष्टि शनिबार दाङमा गरिने