सवारी दुर्घटनामा परी १६ दिनपछि निधन भएका ५ नं. प्रदेशका सांसद स्वर्गीय उत्तरकुमार वलीको शव अन्तिम श्रद्धाञ्जलीको लागि काठमाडौंस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ।
शुक्रवार बिहान ९ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीको लागि त्यहाँ राखिने सांसद वलीका स्वकीय सचिव एमन शाहले जानकारी दिए।
उपचारका क्रममा काठमाडौंको मेडासिटी हस्पिटलमा शुक्रबार बिहान १ बजेतिर निधन भएका ३४ वर्षीया सांसद वलीको शवलाई त्यसपूर्व पोष्टमार्टमको लागि पाटन हस्पिटलमा लगिएको छ।
पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि शुक्रबार बेलुकातिर हेलिकप्टरमार्फत् शव दाङ ल्याइने जानकारी दिइएको छ। सांसद वलीको शवलाई शुक्रबार श्रद्धाञ्जलीका लागि तुलसीपुरको टरिगाउँ एयरपोर्ट नजिकै रहेको निजी निवासमा राखिने जानकारी दिइएको छ।
शनिबार बिहान तुलसीपुरस्थित पूर्व नेकपा एमालेको अञ्चल पार्टी कार्यालयमा ७ बजेदेखि ८ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिइएको छ। त्यसपछि सांसद वलीको पुर्खेली घर दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार पुर्याइने छ। स्वर्गीय सांसद वलीको अन्तिम संस्कार श्रीगाउँको चिराघाटस्थित खोलामा गरिने जानकारी दिइएको छ।
स्वर्गीय सांसदका दुई छोरा छन्। कान्छो छोरा ७ वर्ष र जेठो छोरा ९ वर्ष उमेरका रहेको स्वकीय सचिव एमएन शाहले जानकारी दिए।
मेडासिटी हस्पिटलमा मुख्यमन्त्री लगायतका नेता पुगे
प्रदेश सांसद वलीको निधनको खबर सुनेलगत्तै ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल बिहान ४ बजे नै मेडासिटी हस्पिटलमा पुगेका थिए। उनी पत्नी तथा प्रतिनिधिसभा सांसद सुजिता शाक्यका साथ हस्पिटल पुगेर श्रद्धाञ्जली दिएका थिए।
त्यस्तै वलीप्रति श्रद्धाञ्जली व्यक्त गर्न दाङका प्रतिनिधिसभा सदस्यहरू हिराचन्द्र केसी, मेटमणि चौधरी, नेकपाका सचेतक देव गुरुङ,पूर्व मन्त्री रेखा शर्मा लगायतका नेता कार्यकर्ता एकाबिहानै हस्पिटलमा पुगेका थिए।
यसैबीच सांसद वलीका एक जना नजिकका साथी मानबहादुर रावतले वलीको निधले एक जना कुशल संगठन र हक्की स्वभावका नेता दाङले गुमाएको बताएका छन्।
‘अब फेरि यतिको हिम्मती नेता दाङमा जन्मिन मुश्किल छ,’ रावतले भने ‘जनतको पिरमर्का बुझ्ने सक्ने नेताको असामयिक निधनले ठूलो क्षति पुगेको छ।’
उनले उत्तरकुमार वलीको निधनले एउटा सच्चा कम्युनिष्ट अभियन्ता गुमाउनु परेको तर्क गरे।