नेपाली कांग्रेस धनुषामा केही नेतृहरूको असन्तुष्टिकाबीच महिला संघको नयाँ कार्यसमिति चुनियो। गत फागुन ६ गते महिला संघको नवकार्यसमिति निर्विरोध चयन गरियो।
तर महिला संघमा समेत पुरुष नेताहरूद्वारा गरिएको निर्णय नै लागू गराई नवकार्यसमिति चुनिएकोमा महिला नेतृहरूको आक्रोश बढेको छ।
एकातर्फ महिला नेतृहरू कांग्रेसको भगिनी संस्थामा पुरुष नेताद्वारा गरिएको निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन् भने अर्कोतर्फ पुरुष नेताहरू आफूहरूले संघमा ‘अभिभावक’ को भूमिका मात्र निर्वाह गरेको दाबी गरिरहेका छन्।
कांग्रेस प्रदेश दुईका संसदीय दलका नेता रामसरोज यादवले संघको बन्दसत्रबाट नै नेतृहरू स्वयंमले लिखित रूपमा परिपत्र गरी पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्णय गर्नका लागि जिम्मेवारी दिएको र आफूहरूले त्यही अनुरूप निर्णय गरेको दाबी गर्छन्।
कांग्रेसको भगिनी संस्थाको रूपमा महिला संघ रहेको बताउँदै जसरी छोराछोरीले कुनै पनि निर्णय गर्नका लागि आमाबुवालाई रोज्ने गर्छन् त्यसरी नै महिला संघले समेत आफूहरूलाई ‘अभिभावक’ को रूपमा निर्णय गर्न जिम्मेवारी दिएको र आफूहरूले त्यसै अनुरूप निर्णय समेत गरेको संसदीय दलका नेता यादवले सेतोपाटीलाई बताए।
तर निर्णय गर्नका लागि पुरुष नेताहरूले आफूहरूलाई मौका नै नदिएको कांग्रेसकै एक जना नेतृले नाम नबताउने शर्तमा सेतोपाटीसँग भनिन्।
उनले भनिन्, ‘निर्विरोध कार्यसमिति चयन गर्नका हामी छलफलमा जुट्यौं तर हामीबीच कुरा नमिलेपछि हामीले शिर्ष नेताहरूको जिम्मा लगाउने निष्कर्षमा पुग्यौं तर के शिर्ष नेतामा पुरुषहरू मात्रै पर्छन् त ?’
यता महिला नेतृहरूले नै आफ्नो संगठनका लागि निर्णय गर्नुपर्छ तर केन्द्रीय प्रतिनिधिलाई नेतृहरू स्वयंले जिम्मा लगाएपछि निर्णय गर्नुपरेको केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना बताउँछन्।
उनी भन्छन्, ‘फेरि हामीले चयन गरेको सभापति जनकपुरधाममा भएको प्रजातान्त्रिक र गणतान्त्रिक आन्दोलनमा उनको अग्रणी भूमिका थियो र पनि प्रजातन्त्रमा असन्तुष्टि र विमती हुनु स्वभाविक हो र यो नै गणतन्त्रको गहना हो।’
महिला संघ धनुषाको अध्यक्ष तुलसा आचार्यको नेतृत्वमा ११ सदस्यीय नवकार्यसमिति गत फागुन ६ निर्विरोध चुनिएको थियो।
सभापति, उपसभापतिसहितको पदका लागि संघमा नेतृहरूले ठोस निर्णय गर्न नसकेपछि कार्यसमिति टुंगो लगाउन ५ सदस्यीय समिति गठन गरिएको थियो। जसमा नेपाली कांग्रेस प्रदेश दुईका संसदीय दलका नेता रामसरोज यादव, केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव र जिल्ला सभापति महेशशंकर गिरी रहेका थिए तर महिला निर्णयकर्ता भने निर्णय समितिमा एउटा पनि अटाउन सकेनन्।
महिलाको संघमा समेत पुरुष नेतृत्व वर्ग नै हावी भएपछि संघमा असन्तुष्टि बढेको संघ निकट स्रोत बताउँछ।
यसैबीच, कांग्रेस पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मिनाक्षी झाले पार्टी उपसभापति विमलेन्द्र निधिले समेत महिला नेतृहरूलाई नै आफ्नो निर्णय गर्न सुझाएको बताइन्।
उनले भनिन्, ‘उपसभापतिजीले समेत हामीलाई संघको निर्णय आफैंले गर्न सुझाव दिनुभयो र कुनै पनि सहयोगको आवश्यकता परे केन्द्रीय सदस्यसँग लिनुहोला भनेर जानुभएको थियो तर केन्द्रीय सदस्यहरूले उपसभापतिको त्यो भनाइलाई हामीले नै निर्णय गर्छौं, भन्ने जस्तो लिनुभयो।’
सांसद झाले केन्द्रीय सदस्यहरूले सांसदहरूलाई समेत सामेल गराइ छलफल गरी निर्णय गर्ने कुरा राजी नभएको बताइन्।
संघको नवकार्यसमिति चुनिन ढिलो भएकाले चुनावमा नगइ सर्वसम्मति नै गर्ने सहमति गरेको सांसद झाले बताइन्।
महिला संघमा विभिन्न पदका लागि कुरा नमिलेपछि प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, जिल्ला सभापति, प्रदेश दुईका संसदीय दलका नेता र केन्द्रीय सदस्यहरूलाई विवाद टुंगो लगाउन जिम्मा दिइए पनि पुरुष नेताहरूले त्यसो नगरी एकलौटी निर्णय गरेको उनले आरोप लगाइन्।