दाङको टरिगाउँ एयरपोर्टको गेटबाटै सिधा चिटिक्क परेको नँया घर स्पष्ट देखिन्छ। त्यो बीचमा कसैका घर छैन।
एयरपोर्ट गेटदेखि झन्डै एक सय मिटर पश्चितर्फको यो घर सांसद ओलीले यही वर्ष मात्रै निर्माण गरेका हुन्।
माघ ४ गतेदेखि मात्रै उनी यो घरमा बस्न थालेका थिए। माघ २४ गते दिउँसो उनी गम्भीर दुर्घटनामा परे। त्यसको १६ दिनपछि उनको अचेत अवस्थामै मृत्यु भयो।
गत साल प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि मात्रै ओलीले यो घडेरी जोडेका थिए। यसअघि सांसद वलीको घर तुलसीपुर उपमहानरपालिका वडा नं. ६ स्थित बरूवा गाउँमा थियो।
२०७० सालको निर्वाचनमा पराजय भएपछि उनले त्यो घर बेचेका थिए। चुनाव लड्दा लागेको ऋण तिर्न उनले घर बेचेको तत्कालिन समयमा बताउने गर्थे।
सांसद वलीको परिवार र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्। आफन्तका अनुसार एउटा छोरा सात वर्ष र अर्कौ छोरा साढे ९ वर्ष जतिका छन्।
राम्रो शिक्षादिक्षाका लागि उनले छोराहरूलाई राजधानीमा राखेका थिए। त्यसैले सांसद वली तुलसीपुरको एयरपोर्ट नजिकै निर्मित यो घरमा २० दिनको अवधिमा बढीमा हप्ता दिन जति मात्रै बस्न पाएका थिए। फुर्सदको समयमा प्रायः उनी काठमाडौं बस्ने गर्थे। ‘पाहुनाको रूपमा आक्कल झुक्कल मात्रै उहाँ यो घरमा आउनुहुन्थ्यो,’ एक स्थानीयले सेतोपाटीसँग भने ‘त्यस्तै हो उहाँ बढीमा हप्ता दिन जति बस्न आउनु भयो होला।’
दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँको लेटारमा पुर्खौली घर भएका स्वर्गीय सांसद वलीले विद्यालय शिक्षा स्थानीय श्रीगाउँ माविबाट पुरा गरेका थिए।
आइएसी बाँके र विएसी अस्कलमा पढेका उनले त्यसपछि म्यापावर व्यवसायमा हात हालेका थिए। अमेरिकालगायत पश्चिमा मुलुकमा उनले थुपै नेपाली पठाए।
उनले विवाह पनि अमेरिका पठाउने म्यानपावर व्यवसायीको बहिनीसँगै गरेका थिए। म्यानपावर व्यवसायबाट उनले मनग्य आम्दानीसमेत गरेका थिए।
उनका माइला दाइ र ठूल्दाईको छोरा अमेरिकामा छन्। झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको राजनीतिक उचाई एकाएक चुलियो।
त्यो बेला अमेरिकाबाट सांसद वलीको नाममा करोडौं रकम आएपछि उनले पार्टी र नेताहरुलाई पनि सहयोग गरेको भन्ने चर्चा राजनीतिक बृतमा अझैं पनि हुने गर्छ। हक्की स्वभावका वली असल संगठक थिए। पश्चिम दाङमा उनैको नेतृत्वले एमालेको संगठन शून्यबाट सयसम्म पुर्याएको कतिपय उनका समर्थकले बताउने गर्छन्।
२०७० सालको निर्वाचनमा सांसद वलीले आफ्नो चुनाव प्रचार प्रसारको लागि भन्दै देशका विभिन्न स्थानमाबाट दर्जनौं युवा ल्याएका थिए।
त्यतिबेला होटेल वेस्टर्न प्यालेसबाट निर्वाचनमा पराजय भोगेपछि वलीले ल्याएका तीन दर्जन जति युवाहरु पक्राउ पनि परेका थिए।
गत निर्वाचनमा पनि उनलाई साथ दिने युवाहरू दर्जनौं थिए। सानै उमेरमा राजनीतिक सफलता हासिल गरेका तीनै सांसदको सवारी दुर्घटनामा भएका असामयिक निधनले उनका शुभचिन्तक, आफन्त तथा नेकपा दाङ शोकमा डुवेको छ।
शुक्रबार दिउँसो २ बजेतिर हेलिकोप्टरमार्फत उनको शव दाङको टरिगाउँ एयरपोर्टमा ल्याउँदा त्यहाँ पुगेका सयौं नेता कार्यकर्ता र सर्वसाधारणको भीडले पनि त्यो पुष्टि हुन्थ्यो।
उनलाई श्रद्धाञ्जली दिन प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्ती, कानुनमन्त्री कुलप्रशाद केसी, नेपाली कांग्रेसका नेता तथा लेखासमितिका सभापति डिल्लीबहादुर चौधरीलगाएतका विभिन्न पार्टीका नेता कार्यकर्ता पुगेका थिए।
५ बजेसम्म तुलसीपुरस्थित पूर्व नेकपा एमालेको अञ्चल पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि शव राख्दा पनि त्यहाँ सयौं मानिस श्रद्धाञ्जलीका लागि पुगेका थिए।
त्यसपछि शुक्रबार बेलुका नै वलीको शवलाई उनको पुर्ख्यौली घर दंगीशरणस्थित श्रीगाउँको लेटारमा लगिएको छ।
शनिबार बिहान ९ बजेपछि हुने उनको अन्त्येष्टिको समयमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय संसदका सभामुख कृष्णबहादुर महरालगायतका नेता कार्यकर्ता आउने जानकारी दिइएको छ।
स्वर्गीय सांसद वलीका चार दाजुभाइ छन्। उनी परिवारका कान्छा सदस्य हुन्। उनका बुवाको केही वर्ष अगाडि र आमाको गत साल मात्रै निधन भएको थियो।