सवारी दुर्घटनामा परी मृत्यु भएका ५ नं. प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
दंगीशरण गाउँपालिका वडा नं.५ स्थित बागर खोलामा शनिबार उनको अन्त्येष्टि गरिएको हो।
सांसद वलीको पुर्खेली गाउँ दंगीशरण ६ लेटारदेखि झन्डै ३ किलोमिटरको बगरखोलामा भएको अन्त्येष्टिका क्रममा सम्मान स्वरूप नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो।
वलीको पार्थिव शरीरमा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र संघीय संसदका सभामुख कृष्णबहादुर महराले राष्ट्रिय झण्डा ओडाएर सम्मान व्यक्त गरेका थिए।
वलीको अन्त्येष्टि कार्यक्रममा सरकारका उच्च पदस्थ पदाधिकारी,मन्त्रीहरू, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरू,विभिन्न राजनीतिक दलका नेता,कार्याकर्ता र सयौं सर्वसाधारण मलामीका रूपमा पुगेका थिए।
वलीलाई अन्तिम श्रद्धाञ्जली दिन संघीय संसदका सभामुख कृष्णबहादुर महरा शनिबार बिहानै प्लेनमार्फत् दाङ आएका थिए।
त्यस्तै ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, कानुन मन्त्री कुलप्रसाद केसी, नेपाली कांग्रेसका नेता तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, मन्त्रीहरू, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू तथा सयौं शुभचिन्तक वलीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए।
स्वर्गीय सांसद वलीका कान्छा छोरा ७ वर्षीय प्रतीक वलीले बुवालाई दागबत्ती दिएका थिए। त्यसपछि वलीका ९ बर्षीय अर्का छोरा प्रणय वली, पत्नी विमला वली लगायत आफन्तले क्रमश: दागबत्ती दिएका थिए।
सांसद वली माघ २४ गते बुटवलमा प्रदेशसभाको बैठक सकेर दाङको तुलसीपुरस्थित घर आउने क्रममा दुर्घटनामा परेका थिए। त्यसपछि अचेत अवस्थामै उपचारका क्रममा १६ दिनपछि शुक्रबार राजधानीस्थित मेडिसिटी अस्पताल निधन भएको थियो।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानीमा भन्ने स्थानमा सांसद वलीले आफैले हाँकेको र बा १८ च ६८३६ नं. कारलाई विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं. को यात्रुबाहक बसले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परी बसमा सवार रुकुमकी एक जना महिलाको मृत्यु भएको थियो भने झन्डै २ दर्जन यात्रु घाइते भएका थिए। अन्य सबै घाइते उपचार पछि घर फर्किसकेका छन्।
५ नं. प्रदेशका उत्तरकुमार वली सडक सुरक्षा योजना लागू गर्ने घोषणा
बागर खोलामा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सांसद वलीको सवारी दुर्घटनामा परी अल्पायुमै भएको दुःखद निधनलाई एउटा ठूलो शिक्षाको रूपमा लिनुपर्ने बताएका छन्।
५ नं. प्रदेशभित्र सडक सुरक्षा कसरी प्रदान गर्न सकिन्छ र दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा एउटा कार्यदल बनाएर एउटा व्यवस्थित योजनाका साथ अगाडि बढ्ने उनले बताए।
त्यसका लागि उत्तरकुमार वली सडक सुरक्षा योजना लागू गर्ने मुख्यमन्त्रीले घोषणा गरेका थिए।
‘हामीलाई यो घटनाले ठूलो पाठ सिकाएको छ। अब हामी प्रदेश पाँचमा सवारी दुर्घटना न्यूनीकरण गर्न उत्तरकुमार वली सडक सुरक्षा योजना अन्तरगत विशेष अभियान चलाउने पक्षमा छौंं’,मुख्य मन्त्री पोखरेलले भने, ‘ताकि उहाँलाई हामीले गुमाए पनि अब अरु थुप्रै उत्तरकुमारहरूको जीवन रक्षा हुन सकोस्।’
मुख्य मन्त्री पोखेरलले सांसद वलीको निधनले प्रदेश नं. ५ लाई अपुरणीय क्षति पुगेको बताए।
‘उत्तरकुमार वली विकास प्रेमी नेता हो। उहाँलाई पश्चिम दाङको विकासबारे ठूलो चिन्ता थियो। प्रदेशसभामा पनि उहाँ निकै सक्रिय हुनुहुन्थ्यो,’मुख्य मन्त्रीले भने, ‘अब उहाँले देखेका सपना पूरा गर्ने जिम्मेवारी मलगायत तपाईं हामी सबैको काँधमा आएको छ।’
स्वर्गीय वली जनतको प्रिय नेता भएको हुँदा जे आर्जन गरे पनि त्यो सबै जनतालाई नै बाँडेको मुख्यमन्त्रीले बताए।