रुकुमेलीहरूले ५ नं. प्रदेशको नाम लुम्बिनी र राजधानी दाङलाई बनाउन माग गरेका छन्।
आइतबार रुकुम पूर्वमा भएको सुझाव संकलन कार्यक्रममा सहभागी रुकुमेली जनताले सो माग गरेका हुन्।
प्रदेशसभा प्रदेश नं. ५ विशेष समितिले प्रदेश नामाकरण र स्थायी राजधानीबारे प्रदेशका १२ वटै जिल्लामा पुगेर स्थानीय जनतासँग सुझाव संकलन अभियान सुरू गरेको छ।
त्यही उद्धेश्यका साथ आइतबार रुकुम पूर्वमा गएको सुझाव संकलन टोलीलाई लिखित र मौखिक रूपमा रुकमेली जनताले ५ नं. प्रदेशको नाम ‘नाम लुम्बिनी र राजधानी दाङ’ बनाउन माग गरेको सुझाव संकलनमा गएका एक जना व्यक्तिले सेतोपाटीलाई फोनमा जानकारी दिए।
कार्यक्रममा सहभागीहरूलाई विशेष समितिले प्रदेशको नामाकरण र स्थायी राजधानीको बारेमा २ प्रति वस्तुगत प्रश्न दिँदै आफ्नो मत जाहेर गर्न १ घण्टाको समय प्रदान गरेको थियो।
त्यसमा सहभागी रुकुमेली जनताले प्रश्नको लिखित र मौखिक रूपमा आफ्नो राय पेश गरेका थिए । तर कार्यक्रममा सहभागी कतिपय सर्वसाधारण नागरिकले भने सोझा साझा जनतालाई अलमल्याउने खालका जटिल प्रश्न राखिएको भन्दै असन्तुष्टि पनि पोखेको एकजना कर्मचारीले बताए।
‘उनीहरूको माग संघीयताको मर्म अनुरूप सबैलाई पायक पर्ने स्थानमा राजधानी हुनुपर्छ अन्यथा स्वीकार्य हुँदैन भन्ने नै आयो,’ ती कर्मचारीले भने ‘राजधानी तोक्दै गर्दा विकट पूर्वी रुकुमको भावनाको पनि कदर हुनुपर्छ भन्ने भनाइ उनीहरूले व्यक्त गरेका छन् ।’
जिल्ला समन्वय समिति पूर्वी रुकुमका प्रमुख गजेन्द्रबहादुर वलीको अध्यक्षतामा भएको सुझाव संकलन कार्यक्रममा संघीय सांसद कमला रोका, प्रदेश सांसद दिनेश पन्थी, वीरबहादुर राना,आशा स्वर्णकार पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको पनि सहभागिता थियो।
कार्यक्रममा रुकुम पूर्वका स्थानीय तहका सबै पदाधिकारी,जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख पत्रकार लगायत जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी पनि सामेल थिए।
नामाकरण र स्थायी राजधानी तोक्न बनेको विशेष समितिको काम र कर्तव्यको बारेमा विशेष समितिका सदस्य एवम् पाल्पा जिल्लाबाट निर्वाचित प्रदेश सभाका सदस्य वीरबहादुर रानाले त्यसको नेतृत्व गरेका थिए।
रुकुमेली जनताको राय सुनेपछि रानाले रुकुमेली जनाताको भावना जस्ताको तस्तै आफूले बुझाउने प्रतिवद्धता जाहेर गरे।
त्यसक्रममा उनले राजधानी तोक्दा सबै जिल्लाको राय सुझावको मूल्यांकन गर्ने आश्वासन पनि दिए।
त्यस्तै विशेष समितिका सदस्य एवं प्रदेश सभाका सदस्य दिनेश पन्थीले कसैको स्वार्थ र कुनै नेताको आफ्नो हितको लागि राजधानी नतोकिने सम्बोधनका क्रममा बताएका थिए।
सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्नुपर्ने उनको कथन थियो।
प्रदेश सभा सचिवालयका प्राविधिक प्रमुख मनोजकुमार पाण्डेले कार्यक्रमबारे जानकारी गराएका थिए भने सहजीकरण सचिवालयका उपसचिप श्याम प्रसाद शर्माले गरेका थिए। सुझाव संकलन कार्यक्रम प्रदेश नं. ५ का १२ वटै जिल्लामा गरिने भएको छ ।