५ नम्बर प्रदेशको स्थानी राजधानी र नामांकरणको बारेमा सुझाव संकलन गर्न गठित विशेष समितिले मंगलबार दाङमा सुझाव संकलन गरेको छ।
कार्यक्रममा सहभागी सबैले सामाजिक न्यायको सिद्धान्तको आधारमा दाङ राजधानी हुनुपर्ने बताएका छन्।
गुरु जजुर नमूना उच्च माविका प्राचार्य विष्णुप्रसाद आचार्यले सामाजिक न्यायका सिद्धान्तका आधारमा ५ नं. प्रदेशको स्थायी राजधानी दाङ नै हुनुपर्ने माग गरे।
‘भौगोलिक तथा वातावरणीय दृष्टिकोणले यो अत्यन्तै उपयुक्त स्थान हो,’ आचार्यले भने, ‘दाङ केन्द्रीय राजधानी भन्दा पनि उपयुक्त स्थान छ।’
प्राचार्य आचार्यले राजनीतिक इमान्दारिता देखाउन सक्ने हो भने दाङ नै राजधानी हुनुपर्ने दाबी गरे।
‘राजनीतिक इमान्दारिता देखाइयोस्,’ आचार्यले भने, ‘बलको आधारमा र राजनीतिक पहुँचको आधारमा राजधानी तोके संघीयता सफल हुन मुश्किल पर्न सक्छ।’
दाङको राप्ती राजमार्गले दक्षिणमा भारत र उत्तरमा चीन छुने भएको हुँदा पनि दाङ राजधानी बनाउन आवश्यक रहेको उनको कथन थियो। सुझाव प्रस्तुत गर्दै युवा ठाकुर रोकाले समानुपातिक विकास चाहने हो र संघीयताको मर्म अनुरूप अगाडि बढ्ने हो भने दाङको विकल्प नरहेको तर्क गरे।
‘दाङ केन्द्रीय राजधानी बनाउनका लागि समेत सबभन्दा उपयुक्त स्थान हो,’ रोकाले भने, ‘यसलाई छोडेर बुटवल राजधानी बनाउन खोज्नु आफैंमा मजाग हो।’
आदिवासी तर्फबाट चूर्णबहादुर चौधरीले इञ्चले नापे पनि दाङ १२ वटै जिल्लाको बीच भागमा पर्ने, दक्षिण एसियाकै ठूलो उपत्यका भएको हुँदा प्रशस्त जग्गा उपलब्ध रहेको, भूराजनीतिक दृष्टिकोणले गर्दा पनि दक्षिणमा भारत र उत्तरमा चिनसँग दाङको राजमार्गले जोड्न सक्ने हुँदा राजधानी हुनुपर्ने माग गरे।
उनले राजधानी छिमेकी देशको सीमानामा नभइ सुरक्षित स्थानमा रहनुपर्ने भन्दै दुवै देशसँगको समदूरी दाङले मात्रै कायम गर्न सक्ने बताए।
त्यस्तै, उनले दाङमा राप्ती नदी र बबई नदी जस्ता नदीहरू भएको हुँदा मानव सभ्यताको विकास गर्न सहज हुने तर्क गरे।
कार्यक्रममा सुझाव प्रस्तुत गर्दै गरिबी निवारण कोषका पूर्व कार्यकारी निर्देशक नहकुल केसीले दाङ प्रदेशका १२ वटै जिल्लाहरूको केन्द्र भागमा पर्ने भएको हुँदा संघीयताको मर्म अनुसार जनतालाई नजिकबाट सेवा दिने हो भने दाङ नै प्रदेशको स्थायी राजधानी हुनुपर्ने दाबी गरे। ‘यदि दाङ राजधानी बन्दैन भने केही चुनौती रहे पनि ८ औं प्रदेशको लागि तयारी गर्नुपर्छ,’ केसीले भने।
उनले पनि संघीयता सफला पार्ने हो भने ५ नं. प्रदेशमा दाङको विकल्प नरहेको जिकिर गरे।
दलित समुदायकी निर्मलाकुमारी गुप्ता बादीले दाङमा प्रशस्त जग्गा रहेको, सुरक्षाको दृष्टिकोणले उपयुक्त स्थानमा रहेको, सबै जातजातिको बसोबास रहेको, हावापानीको दृष्टिकोणले उपयुक्त रहेको हुँदा कसैको माग भन्दा पनि सबैको आवश्यकताको आधारमा दाङ राजधानी बन्नुपर्ने दाबी गरिन्।
पत्रकार गणेश आचार्यले बुटवलप्रति कुनै द्वेष नराखेको बताउँदै संघीयताको मर्म अनुसार दाङ नै राजधानी हुनुपर्ने तर्क प्रस्तुत गरे।
‘यदि दाङ,बाँके, बर्दियलाई कर्णाली प्रदेशमा र रुकुम पूर्वलाई गण्डकी प्रदेशमा गाँभेमा मात्रै बुटवल केन्द्रमा पर्ने हुँदा त्यसपछि मात्रै बुटवल राजधानी बन्न संभव हुने,’ आचार्यले भने।
क्षेत्रीय संवाद समूहले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सुझाव दिने अन्य वक्ताहरूले दाङ दक्षिण एसियाकै दोस्रो ठूलो उपत्यका भएको, हावापानी, सुरक्षा, सुविधा, यातायात, प्राकृतिक, सामाजिक हिसाबले पनि उपयुक्त स्थान भएको हुँदा राजधानी दाङ नै हुनुपर्ने मत जाहेर गरेका थिए।
सुझाव दिएका अधिकांशले प्रदेश नं. ५ को नाम भने लुम्बिनी राख्नु उपयुक्त हुने बताएका छन्। तर त्यसमध्ये कतिपयले भने प्रदेशको नाम स्वर्गद्वारी र बुद्ध भूमिसमेत राख्न सकिने सुझाएका थिए।
सुझाव संकलन पश्चात विशेष समितिका सदस्य निर्मला क्षत्रीले प्रदेशका सबै जिल्लामा पुगेर छलफलका क्रममा संकलन भएका आवाजलाई राजधानीका लागि गठन भएको समितिमा बुझाउने र प्रदेशका सबै जनतालाई न्याय हुने हिसाबले प्रदेशको राजधानी तोक्ने विश्वास दिलाएकी थिइन्।