प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ता रिहाइ गर्न माग गर्नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज दाङलगायत तत्कालीन राप्ती अञ्चलका जिल्लामा बन्द आयोजना गरेको छ।
विप्लवको बन्दले दाङ, सल्यान,प्युठान,रुकुम (दुबै) र रोल्पा जिल्लाको जनजीवन प्रभावित भएको छ। स्कुल, क्याम्पस, बजार पसल, सवारी साधन सबै बन्द भएपछि सर्वसाधारणलाई सास्ती भएको छ।
केही दिनअघि दाङ र रोल्पाबाट प्रहरीले विप्लवका नेता/कार्यकर्ता पक्राउ गरेको थियो।
पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै विप्लव समूहले बेलाबेला शिक्षण संस्थामा पनि बन्द गर्दै आएको छ।
राप्ती बन्दको अघिल्लो रात उक्त समूहले विभिन्न सरकारी गाडीमा आगजनी गरेको छ।
रोल्पाको गंगादेवी गाउँपालिकाका अध्यक्ष विरबहादुर खत्रीको गाडीमा आगजनी भएको छ। रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काका अनुसार गाउँपालिकाको वडा नं. ४ अन्तर्गत ग्वालेखोलामा पार्किङ गरी राखेको भे १ ज २७८५ नम्बरको बोरेरो जीपमा आगजनी भएको हो। अध्यक्ष खत्री स्थानीय मेलाको उद्घाटन गर्न गएका र त्यहीँ बास बसेका थिए।
रोल्पाकै त्रिवेणी गाउँपालिकामा पनि बुधवार राति अर्को एउटा गाडीमा ढुंगा प्रहार गरी तोडफोडको प्रयास भएको प्रहरीले जानकारी दिएको छ। ढुंगा प्रहारबाट गाडीका सिसा फुटेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै प्रहरीले गए राति अर्को एउटा स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको जानकारी दिएको छ।
‘त्रिवेणी गाउँपालिकाको स्काभेटरमा आगजनी गरेको भन्ने कुरा आएको छ,’ डिएसपी खड्काले भने ‘ त्यो निकै टाढा छ र हामी त्यता जाँदैं छौं । त्यहाँ पुगेपछि मात्रै त्यसवारे जानकारी दिनेछु।’
प्रहरीले यी सबै आगजनीमा विप्लवका कार्यकर्ताको हात रहेको अनुमान गरेको छ।