कानुनले कुनै महिलाको श्रीमान फेरिदिन सक्छ कि सक्दैन?
दाङमा एक वर्षअघि त्यस्तै भयो।
दाङ जिल्ला अदालतले २०७४ जेठ २९ गते निरमाया पुनको श्रीमान फेरिदियो।
३७ वर्षीया निरमाया बाग्लुङ, जैमनी नगरपालिका-१० का प्रेमबहादुर पुनकी पत्नी हुन्। जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले भने उनी दाङ, हाँसीपुरका दिपक भनिने फनाधर घर्ती मगरकी दोस्रो पत्नी भएको ठहर गर्दै फैसला गरे।
अदालतले पति ठहर्याएको दिपकलाई निरमाया चिन्दा पनि चिन्दैन थिइन्।
उनले जिल्ला अदालतको आदेशविरूद्ध २०७४ साउन ३१ गते उच्च अदालतमा पुनरावेदन गरिन्।
उच्च अदालत तुलसीपुरले फागुन २१ गते मंगलबार जिल्ला अदालतको फैसला उल्ट्याइदिएको छ। त्यहाँका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश ईश्वर आचार्यको इजलासले एउटाकी पत्नीलाई अर्कैकी पत्नी कायम गरिदिने फैसला उल्ट्याएको हो।
यो मुद्दा २०७२ मंसिर २८ गते सुरू हुन्छ।
दिपककी जेठी पत्नी चेमा घर्ती मगरले 'आफ्ना पतिले निरमायासँग दोस्रो बिहे गरेको' आरोप लगाउँदै मुद्दा हालेकी थिइन्।
अदालतले स्थानीय केही व्यक्तिको बकपत्रका आधारमा निरमायालाई दिपककी दोस्रो पत्नी कायम गरिदिएको थियो। दिपकले दोस्रो पत्नी भित्र्याएर गाउँमा भोजसमेत गरेको फैसलामा उल्लेख थियो।
त्यतिबेला दिपकलाई बहुविवाहको अभियोगमा एक वर्ष कैद र ५० हजार जरिवाना तोकियो। निरमायाका हकमा भने विवाहित व्यक्ति हुन् भन्ने थाहा नपाई बिहे गरेको भन्दै सफाइ दिइयो।
त्यही फैसलाकै कारण न्यायाधीश खड्का कारबाहीस्वरूप न्याय परिषद तानिएका थिए।
निरमायाले दिपकलाई कहिल्यै नदेखेको, नचिनेको र आफू पहिलोपटक दाङ आएकाले अभियोग झूटो भन्दै पुनरावेदन निवेदन दिइन्।
उनको पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतले दिपक र निरमायाको बिहे पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको फैसला गरेको छ।
दिपकले दोस्रो पत्नीका रूपमा निरमायालाई भित्र्याउँदा भोजभतेर गरेको पुष्टि हुने प्रमाण, फोटो वा भिडियो कतै फेला नपरेको र त्यो कुरा गाउँका मानिसले पनि भन्न नसकेको उच्च अदालतको फैसलामा उल्लेख छ।
'गाउँमा भएको भनिएको भोजमा एक जना व्यक्तिले पनि आफू सहभागी भएको, टीकाटालो गरेको कुरा यकिनसाथ भन्न सकेनन्। अत्यन्त सहज र सरल तरिकाले खिच्न सकिने फोटो र भिडियोसमेत कहीँ कतैबाट पेस भएन,' फैसलामा भनिएको छ, 'त्यसैले सबै कुरा शंकास्पद र झूटो देखिन्छ।'
बाग्लुङका प्रेमबहादुर र निरमायाको २०५६ सालमा मागीबिहे भएको थियो।
प्रेमबहादुर भारतीय सेनाका जागिरे थिए। २०७२ साउनमा उनको अवकाश भइसकेको छ। २०६१ सालमा उनीहरूको पहिलो सन्तान जन्मियो- प्रमिला। २०६५ सालमा छोरा मीनबहादुरको जन्म भयो।
प्रेमबहादुरले त्यसपछि निरमायामाथि घरेलु हिंसा गर्न थाले। उनी विदामा घर आउँदा श्रीमती कुट्थे।
'परिवारले मलाई साथ दिएन। छोराकै पक्षमा लाग्यो। ऊ नभएका बेला कुटपिट गरेर घरबाट निकाल्यो,' निरमायाले भनिन्, 'खपिनसक्नु भएपछि गाउँघर र छिमेकी गुहारेँ। कसैको केही सीप नलागेपछि माइत गएँ।'
त्यहाँबाट उनी आफ्ना बाबुसँग पति प्रेमबहादुरको पल्टन भारतको आसाम पुगिन्। त्यहाँ पनि प्रेमबहादुरले पत्नीलाई मतलब गरेनन्।
‘जे गर्न सक्छस् गर भन्ने धम्की दिए,’ निरमायाले भनिन्, 'तँ आफ्नो बाटो हिँड, म मेरो बाटो हिँड्छु। मलाई तेरो कुनै मतलब छैन भने।’
निरमायाले हरेस खाइनन्। आफ्नो अधिकार निम्ति लडिरहिन्। बल्लतल्ल प्रेमबहादुर आफ्नो तलबबाट मासिक ६ हजार भारू दिन राजी भए।
यसबीच प्रेमबहादुरले नवलपरासीको साविक देउराली गाविसकी खिममाया पुलामी पुनसँग दोस्रो विवाह गरिसकेका रहेछन्। उनीहरूबाट एउटी छोरी जन्मेको थियो। यो सबै निरमायालाई थाहा थिएन।
२०७२ सालमा प्रेमबहादुरले कान्छी पत्नी खिममायालाई घर भित्र्याए।
त्यसपछि निरमायाले बाग्लुङ जिल्ला अदालतमा आफ्ना पति प्रेमबहादुर र खिममायाविरुद्ध बहुविवाह र अंश मुद्दा दायर गरिन्।
न्याय माग्न गएकी निरमायालाई उल्टै बहुविवाह मुद्दामा फसाउन प्रेमबहादुरले प्रपञ्च रचे।
जिल्ला अदालत दाङले निरमायाका पति दिपक भनिने फनादर घर्ती मगर हुन् भन्ने फैसला गरेको त्यसपछि हो। ती दिपक भन्ने व्यक्ति अदालतमा उपस्थितसम्म भएका थिएनन्।
'अन्त्यमा सत्यकै जित हुन्छ,' निरमायाले भनिन्, ‘उच्च अदालतको फैसलाले न्याय मरेको छैन भन्ने आभास भएको छ।’
निरमायाले बाग्लुङ जिल्ला अदालमा आफ्ना पति प्रेमबहादुरविरुद्ध दिएको बहुविवाह र अंश मुद्दा चलिरहेकै छ।
'उताको लडाइँ बाँकी छ,' निरमायाले भनिन्, ‘अब म अंश मुद्दाका साथै भारत गएर उसको पेन्सन रकममा पनि हिस्सा दाबी गर्छु।'
‘मलाई जसरी भए पनि मेरा छोराछोरीको भविष्य बनाउनुछ।’