सवारी दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी विमला वलीले पार्टीले टिकट दिए चुनाव लड्ने बताएकी छन् ।
सांसद वलीको निधनपछि जिल्लामा उपनिर्वाचनको चर्चा चलिरहँदा बुधबार सेतोपाटीसँग कुरा गर्दै विमलाले आफ्ना स्वर्गीय पतिका अधुरा इच्छा पुरा गर्न आफू चुनाव लड्न तयार रहेको बताएकी हुन्।
‘उहाँले जनतासँग गरेका वाचा पुरा गर्न र उहाँले अघि सारेका अधुरा काम पुरा गर्न म चुनाव लड्ने निश्चयमा पुगेकी हुँ,’ उनले भनिन्।
३४ वर्षीया वलीले यो विषयमा हालसम्म पार्टीका कुनै पनि नेतासँग कुरा नभएको बताइन्। वलीको १३औं दिनको श्रद्धाञ्जली सभामा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने स्वर्गीय सांसद वलीको सपना साकार पार्न विमला अगाडि बढ्नुपर्ने बताएका थिए।
त्यस यता विमलालाई स्थानीयस्तरका नेताले भने उपनिर्वाचनमा लड्नुपर्छ भनेर हौसला दिने गरेको जानकारी दिइन्। ‘ठूला नेता कसैसँग पनि यो विषयमा आधिकारीक रूपमा कुरा भएको छैन,’ वलीले भनिन्, ‘मलाई पार्टीले विश्वास गरेर टिकट दिए म चुनाव लड्छु भन्ने सोचमा पुगेकी छु।’
हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ एरपोर्टस्थित निजी निवासमा आफन्तका साथ बसिरहेकी वलीले यसअघि कहिलै पार्टीको कुनै संगठनमा बसेर काम भने नगरेको जानकारी दिइन्।
उनले हालसम्म पार्टीको सक्रिय सदस्यतासमेत नलिएको जानकारी दिए पनि राजनीतिका बारेमा आफ्ना स्वर्गीय पतिसँग छलफल र कुराकानी हुने गरेको बताइन्। ‘म हालसम्म एउटा गृहिणी मात्रै हुँ,’ विमलाले भनिन्, ‘बच्चा सानै भएकाले पनि म राजनीतिमा लाग्न सकिनँ।’
टिकट पाए चुनाव जित्न सक्छु भन्ने कत्तिको ढुक्क हुनुहुन्छ?, भन्ने प्रश्नमा उनले भनिन्, ‘पश्चिम दाङमा उहाँले नै संगठन निर्माण गर्नु भएको हो भनेर सबैले भन्छन्,’ वलीले भनिन्, ‘पार्टीका सबैले साथ दिए र जनताले माया गरे भने म चुनाव जित्छु भन्ने लाग्छ।’
उनले आफू अझैं पीडा मै रहेकाले थप कुरा केही दिनमा सार्वजनिक गर्ने जानकारी दिइन्। रूकुम पुर्ख्यौली माइती भए पनि वली भने नेपालगञ्जमै जन्मि हुर्केकी हुन्।
कलेज अध्यनका लागि नेपालगञ्ज पुगेका स्वर्गीय सांसद वलीसँग त्यही क्रममा माया बसेपछि उनीहरुले भागी विहे गरेका थिए।
विमला वलीले श्वास्थ्य विषयबाट आइए उत्तिर्ण गरेको जानकारी दिइन्। वलीका ७ र ९ बर्षका दुई छोरा छन्। जो काठमाडौंमा अध्यनरत छन् ।
माघ २४ गते प्रदेशसभाको बैठक सकेर दाङ तुलसीपुरस्थित घर तर्फ आउँदै गर्दा प्रदेश नम्वर ५ का सांसद वली दुर्घटनामा परेका थिए।
दाङको घोराहीबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वलीले आफै चलाएको कारलाई घोराहीको वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिएको थियो । ३७ बर्षीय वलीको उपचारका क्रममा त्यसको १६ दिन पछि फागुन १० गते काठमान्डौंमा निधन भएको थियो ।
दाङको दंगिशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी सांसद वली गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने उनी पराजित भएका थिए । स्वर्गीय वली त्यसको एकआध वर्ष पहिले मात्रै राजनीतिक रूपमा एकाएक चर्चामा आएका थिए।