संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सिके राउतले सरकारसँग गरेको सम्झौताविपरीत गतिविधि गरे सरकारले नियन्त्रण गर्ने बताएका छन्।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले अबदेखि सरकारसँग गरेका सम्झौताविपरीत राउतले कुनै गतिविधि गरे सरकार नियन्त्रण गर्नबाट पछि नपर्ने बताए।
उनले भने, ‘जे सम्झौता भएको त्यसलाई सरकारले पालना गर्छ र हस्ताक्षरकर्ता राउतले पनि पालना गर्नु/गराउनुपर्छ, यदि त्यस्तो नगरे जस्तो व्यवहार उहाँहरूले गर्नुहुन्छ त्यस्तै व्यवहार सरकारले पनि गर्नेछ।’
सरकारले राउतलाई राष्ट्रियसभामा लैजाने सहमति गरेको भन्ने प्रश्नमा मन्त्री पण्डितले त्यस्तो कुनै पनि सम्झौता नभएको बताउँदै सम्झौता गरिएका बुँदाहरू स्पष्ट रूपमा सार्वजनिक गरिएको बताए।
सरकारले मुलुकलाई अस्थिरतामा फस्न नदिने बताउँदै मन्त्री पण्डितले भने,‘सरकारले उच्चस्तरीय वार्ता टोली बनाएरै समस्या समाधान गर्नतर्फ अग्रसर रहेको छ तर आफूलाई राजनीतिज्ञ भनाउनेहरू संविधानविरोधी गतिविधि गरिरहेकाले सरकारले त्यस्ता तत्वहरूलाई नियन्त्रण गर्ने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको छ।’
उनले सरकार असन्तुष्ट पक्षसँग वार्ताका लागि सदैव ढोका खुला राखेको बताए।
केन्द्रीय प्रणाली अन्तर्गत रहेका ६० हजारभन्दा बढी कर्मचारीहरूको संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया पूरा भइसकेको बताउँदै मन्त्री पण्डितले १५ दिनभित्रमा स्वास्थय क्षेत्रको कर्मचारी समेत समायोजन गरिसक्ने जानकारी गराए।
झण्डै ३२ हजार कर्मचारी अभाव रहेको बताउँदै मन्त्री पण्डितले सरकारले लगभग १५ देखि २० हजार पदका लागि विज्ञापन खुलाउने तयारी गरेको बताए।