वीरगन्जको अलौमा रहेको एकीकृत जाँच चौकीको भारतीय कार्यालयमा भीषण आगलागी भएको छ।
नेपाल आईसिपीसँग टाँसिएर रहेको भारत तर्फको एकीकृत जाँच चौकीमा आइतबार दिउँसो भएको आगलागीले दुबै देशको कामकाज तीन घन्टासम्म अवरोध भएको थियो।
भारतीय आईसिपीको कम्पाउन्डसँगै रहेको बगैंचामा उम्रेको घाँसमा भएको आगलागीले ठूलो क्षति भएको छ।
आगलागीबाट पाँच वटा सिसी क्यामरा, ६ वटा माईक, विद्युत पोलको वायर, फाईबर केबल (तार) जलेर नष्ट भएको छ।
त्यसैगरी सुरक्षाको लागि बनाईएको एउटा पोष्टमा पनि आगोले जलेर नस्ट भएको छ।
वीरगन्ज महानगरपालिका तीन, पोखरीया नगरपालिका र भारतको रक्सौंलबाट आएका वारूणयन्त्रको सहयोगमा आगोलाई दुई घन्टामा नियन्त्रण गरिएको थियो।
बारूणयन्त्र, स्थानीय प्रशासन, भारतीय एस एस बिको जवान र आईसिपीका कर्मचारीहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
आगलागीको कारण खुल्न नसकेको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता मनिष महतोले बताए। ‘थप विवरण आउन बाँकी छ, हामी भारतीय पक्षसँग जानकारी लिने काम गरिरहेका छौ,’ प्रवक्ता महतोले बताए।
आगलागी पछि भन्सार नाकाबाट आयात र निर्यात हुने मालबाहक सवारी साधनलाई आवत जावतमा रोक लगाएको प्रवक्ता महतोले जानकारी दिए।
यसैबिच भारतीय आइसीपीमा आगलागी भएलगत्तै नेपाल तर्फको आइसीपीमा आइसीपी समन्वय समितिको बैठक बसेको थियो।
बैठकमा नेपाल तर्फको आइसीपी सञ्चालनको जिम्मा पाएको इन्टर मोडेल यातायात विकास समिातिका प्रमुख होमेन्द्र विक्रम शाही, सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारी, जिल्ला प्रशासन कार्यालय, वीरगन्ज भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो।
बैठकमा नेपाल र भारत दुवै तर्फको आइसीपीको संरचना एकै प्रकारका रहेकाले नेपाल तर्फको आइसीपीमा पनि हुनसक्ने आगलागीको जोखिमलाई मध्यनजर गरि छलफल भएको इन्टर मोडेल यातायात विकास समितिका प्रमुख शाहीले जानकारी दिए।