प्रदेश दुईको प्रदेशसभाको तेस्रो अधिवेशन चैत १४ (बिहिबार) देखि सुरू हुने भएको छ।
दोस्रो अधिवेशन समाप्त भएको एक महिनापछि प्रदेश दुईको प्रदेश सभा बैठक बस्न लागेको हो।
प्रदेश सभाको बैठक बस्न नसकेको भन्दै विपक्षी दलहरूले आलोचना गर्न थालेपछि प्रदेशसभाको तेस्रो अधिवेशन बोलाउने तयारी गरिएको छ। प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले तेस्रो अधिवेशन सुरू भएको पत्र पढेर तेस्रो अधिवेशन आह्वान गरिने छ।
फागुन १५ गते दोस्रो अधिवेशन सम्पन्न भए पनि विजनेश अभावका कारण अहिलेसम्म तेस्रो अधिवेशन सुरू हुन सकेको थिएन। गत फागुन ४ गते बसेको प्रदेशसभाको बैठक कांग्रेसका प्रदेशसभा सदस्यहरूले स्थानीय राजधानी र नामाकरण नटुंगिएसम्म प्रदेशसभा चल्न नदिने अडान लिएपछि फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो।
फागुन १५ गते बैठक आह्वान गरिए पनि बीचमै प्रदेश प्रमुखले अधिवेशन समाप्त भएको पत्र पठाएपछि दोस्रो अधिवेशन बैठक नबस्दै समाप्त भएको थियो।
अब बस्ने तेस्रो अधिवेशनका लागि प्रदेश सरकारले विधेयक पारित गर्नमा समय खर्चने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन्।
उनका अनुसार प्रदेश सरकारले एक दर्जनभन्दा बढी विधेयक तयार पारिसकेको छ।