प्रदेश २ सरकारले हावाहुरी प्रभावितहरूका लागि अस्थायी बासको व्यवस्था गर्न लागेको छ ।
प्रदेश सरकारले प्रभावितहरूको उचित बास व्यवस्थापनका लागि बास तथा जस्ताको टहरा निर्माण गर्ने तयारी गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित राहत तथा उद्धार समितिको बैठकबाट यस सम्बन्धमा चाँडै निर्णय लिइने प्रदेश दुईका मुख्य सचिव दीपक सुवेदीले जानकारी दिए।
मुख्यसचिव सुवेदीका अनुसार बास र जस्ताको टहरा निर्माणका साथै प्रदेश सरकारले त्रिपालहरू समेत संकलन गरिरहेको छ।
विभिन्न जिल्लाका संस्थाहरू, युनिसेफ, नेपाल रेडक्रस सोसाइटी, जिल्लाका दैविक प्रकोप उद्धार समितिबाट त्रिपालहरू संकलन भइरहेको सुवेदीले जानकारी दिए।