जन्मकैदको सजाय पाइसकेका पूर्वराज्यमन्त्री सञ्जय साहको अर्को मुद्दाको पेशी यही वैशाख ४ गते हुने भएको छ।
सञ्चार उद्यमी अरुण सिंघानियाँ हत्याकाण्डको आरोपी समेत रहेका साहलाई वैशाख ४ गते फेरि पेशीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।
पूर्वराज्यमन्त्री साहविरूद्ध जनकपुरधामका सञ्चार उद्यमी अरुण सिंघानियाँ हत्याकाण्डको मुख्य योजनाकारको रूपमा अभियुक्त बनाइएको छ।
धनुषा जिल्ला अदालतका स्रेस्तेदार राधाकान्त झाका अनुसार उनीमाथि ज्यानसम्बन्धी कसूरको मुद्दा रहेको छ। उनले भने, ‘यदी उनी यस मुद्दामा दोषी ठहरन्छन् भने ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सजाय हुनेछ।’
वि. सं. २०६६ साल फागुन १७ गते होलीका दिन जनकपुरधामको शिव चोकमा सञ्चार उद्यमी सिंघानियाँको हत्या भएको थियो। धनुषा जिल्ला अदालतले उक्त मुद्दामा साहलाई पुर्पक्षमा राखेको छ। सो घटनामा साहसहित तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्य रामविनोद यादव, सशस्त्र समूह जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादव, एकलाल भन्ने योगेन्द्र सहनी र अन्ती राईनलाई पनि पुर्पक्षका लागि थुनामा राखिएको छ।
सिंघानियाँ हत्याकाण्डको रहस्य
२०६५ साल भदौ १४ गते रामानन्द युवा क्लब जनकपुरका अध्यक्ष जीवनाथ चौधरीको घरमा डकैती भएको अभियोगमा पक्राउ परेका आरोपी भरत झाले पत्रकार सम्मेलनमा तत्कालीन सभासद सञ्जय साह र तत्कालीन प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडे डकैतीमा संलग्न रहेको भनि दिइएको बयान रेडियो टुडेले प्रत्यक्ष प्रशारण गर्नुका साथै स्थानीय जनकपुर टुडेमा समेत समाचार प्रकाशित भएको थियो।
उक्त घटनामा सञ्जय कुमार साहको नाम पटक/पटक आएपछि आफ्नो बदनामी हुने कारणले आफ्नो नाम घटनासँग नजोडी दिन तथा पत्रिकामा नछाप्न प्रकाशक अरुण सिंघानियाँलाई पटक/पटक आग्रह गर्दा पनि समाचार नरोकिएपछि साहका समर्थकसहितको समूहले जनकपुर टुडेको कार्यालयमा गई तोडफोड गर्दै ज्यान मार्ने धम्की समेत दिएपछि सिंघानियाँ र साहबीच विवाद देखिएको प्रहरीले हत्याको कारणको रूपमा देखायो।
अरुण सिंघानियाँलाई जतिसुकै सम्झाउँदा पनि मान्न तयार नभएपछि साहले आफ्नो निकट सहयोगी राम विनोद यादव र चनरदीप यादवलाई आफ्नो घरमा बोलाई ‘अरुण सिंघानियाँले पार्टीको नाम खराब गरेको छ, यसलाई मार्नुपर्छ, यसका लागि मानिसहरू खोज १० लाख रुपैयाँ दिन्छु’ भनेर संजय साहले भनेको प्रहरीले आफ्नो अनुसन्धानमा दाबी गरेको छ ।
सिंघानियाँलाई मार्ने योजनाबारे सञ्जय साहको कदम चोकस्थित उनको निजी घरको छतमा चनरदीप र रामविनोद यादवसँग तीन पटकसम्म छलफल गरेको चनरदीप यादवले प्रहरी समक्ष बयान समेत दिएका छन्। चनरदीपले एकलाल सहनीमार्फत् पवन लामा र मनक लामा, विजय भनिने दीपेन्द्र कुशियैत गरी ४ जनालाई सिंघानियाँको हत्या गर्नका लागि ५ लाख रुपैयाँमा तय गरेको बताइन्छ ।
योजना अनुसार सिंघानियाँलाई हत्या गर्नका लागि होली पर्वका दिन २०६६ साल फागुन १७ गते सुटरहरू जनकपुरमा आउँछन्।
शिवचोकमा पान खानका लागि गएका सिंघानियाँलाई हत्या गरी उनीहरू फरार हुन्छन् ।
जन्मकैदको सजाय पाइसकेका सञ्जय
पूर्व राज्यमन्त्री साह यसअघि नै मिथिला बमकाण्डमा दोषी ठहरिएपछि जन्मकैदको सजाय पाइसकेका छन्।
धनुषा जिल्ला अदालतले केही हप्ता अगाडि मात्रै पूर्वराज्यमन्त्री साहलाई जन्मकैदको सजाय सुनाएको थियो। धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीसहित ७ जनालाई जन्मकैदको फैसला गरेको थियो ।
६ वर्ष अगाडि जनकपुरधामको रामानन्द चोकमा भएको बमकाण्डका मुख्य योजनाकार मानिएका सञ्जय साह बमकाण्डमा ५ वर्षदेखि पुर्पक्षका लागि थुनामा थिए।
२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै गरेको आन्दोलन क्रममा जनकपुरधामको रामानन्द चोकमा गराइएको बम विस्फोटमा ५ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका थिए ।
कबाडीदेखि सिंहदरबारसम्मको यात्रा
कुनै समय जनकपुरधाममा सञ्जय साह ‘टकला’ डनका रूपमा परिचित थिए। उनी कबाड र ठेक्का पट्टाको कामबाट अकुत सम्पत्ति कमाएपछि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।
त्यो समयमा मधेश आन्दोलन उत्कर्षमा थियो। चाँडै सफलता पाउने लोभका साथ उनी उपेन्द्र यादवको नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ साल चैत २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नम्बर ४ बाट पहिलो पटक निर्वाचित हुँदै राजनीतिक यात्रा सुरू गरेका थिए ।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सांसद भएपछि हवाई फायर गरेर खुसी दर्शाएका थिए । उनले सो निर्वाचनमा एमाले नेता एवं ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठलाई पराजित गरेका थिए। सांसद रहेकै बेला संघीय समाजवादी फोरम परित्याग गरी उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट नेपाली कांग्रेसका नेता रामसरोज यादवलाई पराजित गर्दै धनुषाको क्षेत्र ४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए। निर्वाचन सम्पन्न भएलगत्तै उनलाई तत्कालीन सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको थियो। साह धनुषा ४ बाट निरन्तर दुई पटक निर्वाचित हुने पहिलो सांसद समेत हुन् ।