संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्दै विदेशी लगानी भित्र्याउने सरकारको मुख्य नीति रहेको बताएका छन्।
अर्थ मन्त्रालयको राजश्व परामर्श समितिले बिहीबार वीरगञ्जमा आयोजना गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट, राजश्व नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले स्वदेशी लगानीकर्ताहरुको आग्रह अनुसार नै कार्गो, लजिस्टिकलगायत २५ विषयमा लगानी भित्र्याउने काम भइरहेको बताए।
स्वदेशमा उत्पादन भइरहेका कतिपय बस्तुको संरक्षणका लागि त्यस्ता बस्तुको आयातमा अधिक भन्सार दर र बन्देज नै लगाइएको उनको भनाइ थियो।
व्यापारभन्दा उद्योगलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै बाहिरी देशमा सस्तोमा उत्पादन हुने बस्तुको सन्दर्भ मूल्य तोकिएको बताउँदै उनले भने, ‘व्यापार त सजिलै परिवर्तन गर्न सकिन्छ। तर, उद्योगीले उद्योग फेर्न सहज हुँदैन, व्यापारको दायित्व एउटा एलसीको मात्र हो। उद्योगमा त्यो सहजता हुँदैन।’
अर्थमन्त्री खतिवडाले आगामी बजेटमा निजी क्षेत्रका अधिकांश गुनासा तथा समस्या सामुहिक रुपमा सम्बोधन गरिने बताउँदै उनले उद्योगी व्यापारीको लागि खुसीको वर्ष हुने दाबी गरे।
सडक र औद्योगिक क्षेत्र दुबै एक अर्काको परिपुरक रहेको भन्दै उनले वीरगंज–पथलैया औद्योगिक करिडोरलाई नै सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।
उद्योग र व्यापारको आपसी स्वार्थ बाँझिएकाले त्यस्ता विषयको सम्बोधन सहज नभएको अर्थमन्त्री खतिवडाको भनाइ थियो। ‘एउटाको लागि कच्चा पदार्थ मानिएको बस्तु अर्काको लागि तयारी बस्तु हुनसक्छ। यस्तोमा स्वार्थ मिलाउन कठिन हुन्छ,’ उनले भने, ‘यो विवाद सधैं रहिरहन्छ।’
कर तथा राजश्वका दरलाई व्यवहारिक बनाउँदै उद्योग र व्यापार क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको भन्दै अर्थमन्त्री खतिवडाले आगामी वर्ष २०७६/७७ को बजेटमा निजी क्षेत्रबाट आएको सुझावलाई सक्दो सम्बोधन गर्ने आश्वासन पनि दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सरकार उद्योगी र व्यवसायी प्रति अनुदार भएको टिप्पणी गरे।
कर छलीमा व्यवसायी दोषी भए कारबाहीको भागिदार हुनुपर्ने भन्दै उपाध्यक्ष प्रधानले यदि सरकारी निकायबाट कारबाहीको क्रममा त्रूटी भएका कर्मचारीलाई समेत कारबाही हुनुपर्नेमा उनीहरुले उन्मुक्ति पाइरहेको बताए।
महासंघ यातायात तथा पारवाहन समितिका संयोजक अशोक टेमानीले सरकारले ढुवानीसम्बन्धी कानून नल्याएकाले समस्या भएको बताए।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी जगदीश अग्रवाल, बाबुलाल चाचानलगायतका उद्यमीहरुले आगामी वर्षको बजेटले निजीक्षेत्रका अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताए।