गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रमुख जिल्ला अधिकारी (सिडिओ) संघ सरकारको मातहत नै रहने बताएका छन्।
प्रमुख जिल्ला अधिकारी संघको प्रतिनिधि रहेकोले संघले नै चलाउने बताएका हुन्।
संघको प्रतिनिधि प्रजिअ भए पनि दोहोरो भूमिकामा रहने उनको भनाइ थियो। प्रदेश दुई सरकारले आफ्नै प्रजिअको व्यवस्था गर्न लागेको विषयमा बोल्दै गृहमन्त्री थापाले संविधानले दोहोरो किसिमको प्रजिअको व्यवस्था नगरेको बताए।
उनले प्रहरी प्रशासन प्रदेश सरकारकै मातहत नै रहने समेत बताए। प्रदेश दुईको सुरक्षा गोष्ठीको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारको पनि रहने भएकोले यहाँका प्रहरी प्रशासन प्रदेश सरकारकै मातहतमा रहने बताए। उनले सदनमा प्रस्तुत भएको विधेयकमा समेत प्रदेश प्रहरीको व्यवस्था गरिएको जानकारी दिए।
उनले प्रदेश प्रहरी अन्तर्गत यहाँका प्रदेश प्रहरी प्रमुख, प्रहरी उपरीक्षक, नायब प्रहरी उपरीक्षक प्रदेश सरकारकै मातहतमा रहने बताए। प्रदेश प्रहरीको सञ्चालन प्रदेश सरकारले नै गर्ने उनको भनाइ थियो। सरकारले संघीयता विरोधी कुनै पनि विधेयक नल्याएको बताउँदै गृहमन्त्री बादलले सरकार संविधानले व्यवस्था गरे अनुरूप नै अगाडि बढ्ने बताए।
सुरक्षा गोष्ठीको बैठकलाई सम्बोधन गर्दै बादलले सरकारले एक वर्षको अवधिमा विकास, शान्ति सुरक्षा कायम लगायतको मुद्दामा उपलब्धि हासिल गरेको दाबी गरे। उनले संविधान विरोधी क्रियाकलाप गर्दै आएका सिके राउत मूलधारको राजनीतिमा आउनु सरकारको ठूलो उपलब्धि रहेको बताए।
संविधान विरोधी क्रियाकलापमा संलग्न कुनै पनि समूहलाई नछोडिने बताउँदै उनीहरूलाई पनि मूलधारमा ल्याउन वार्ताको पहल भइरहेको उनले जानकारी दिए ।