प्रदेश दुईको नाम, राजधानी र भाषाको विषयमा गठित संवाद तथा सुझाव आयोगले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयोगका संयोजक हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन्।
आयोगले ८ वटै जिल्लामा पुगेर राजनीतिक दल, नागरिक समाज, संघसंस्था प्रतिनिधिसँग छलफल तथा संवाद गरी प्रतिवेदन तयार पारेको छ।
आयोगले ८ वटै जिल्ला ८ सयभन्दा बढी प्रतिनिधिसँग छलफल गरेको जनाएको छ।
६ महिनाको लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन प्रदेश दुईको मुख्यमन्त्री लालवुबा राउतलाई बुझाएको आयोगले जनाएको छ।
आयोग गठन भएको ४५ दिनभित्र प्रतिवेदन प्रदेश सरकारलाई बुझाउन समय सीमा दिइएको भए पनि ४५ दिनमा काम नसकिएपछि आयोगले थपिएको समयमा प्रतिवेदन तयार पारेको थियो।
हस्तान्तरण गरिएको प्रतिवेदन सार्वजनिक नगरिए पनि यस प्रतिवेदनमा प्रदेशको नामाकरणबारे मधेश, मिथिला, मिथिला–भोजपुरा, मध्यमधेश, जानकी प्रदेश राख्न सुझाव आएको नीति आयोगको उपाध्यक्षसमेत रहेका संयोजक झाले जानकारी दिए।
त्यस्तै, राजधानीको सवालमा जनकपुर, वीरगंज, बर्दिवास, लाहान, राजविराज, गौर, लालबन्दी लगायतका नामहरू सुझावको रूपमा आएको उनले जनाए।
प्रदेशको नाम, राजधानी र भाषा टुंगो लगाउन २०७५ साल कात्तिक ११ गते प्रदेश दुईको मन्त्रिपरिषद बैठकबाट हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो।
यता, मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण र राजधानीको विषयमा प्रदेशसभाको बैठकमा प्रदेश र राजधानीको नामबारे विधेयक पेस गर्ने बताए। उनले अब यसको लागि चाँडै नै प्रकृया अगाडि बढाइने बताए ।
संवाद तथा सुझाव आयोगको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले आयोगले बुझाएको प्रतिवेदनको अध्ययन गरेर मन्त्रिपरिषद् बैठकबाट प्रदेशसभाको समितिमा पठाउने बताए।