आइतबार दिउँसो राजधानीको सुकेधारामा बम विस्फोटमा परी मृत्यु भएको दुई जनामध्ये एक जनाको सनाखत भएको छ।
प्रहरीका अनुसार महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको हो। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन। घटनामा ४ जना घाइते भएका छन्।
घटनास्थलबाट विप्लव नेकपाको पर्चा भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन्।
‘ठाकुर संलग्न नभए बम त्यहाँ कसरी पुग्यो, हामी अनुसन्धानमा जुटेका छौं,’ ती अधिकारीले भने।
काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानबाट दुबै स्थानमा सिलिण्डर बम पड्केको देखिएको छ।
‘हामीले घट्टेकुलोको घटनास्थलबाट विप्लव माओवादीका पर्चा भेटिएका छन्। त्यहाँ घाइते भएका एक जना विप्लवका विद्यार्थी नेता भएको खुलेको छ,’ उनले भने।
घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।
विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले गरेको जघन्य घटनाको बदला जनताले उचित समयमा लिने नै चेतावनी दिएका थिए। प्रहरीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए।