काठमाडौंमा आइतबार दुई ठाँउमा भएका बम विस्फोटमा मर्ने चार विप्लव माओवादीका कार्यकर्ताको पहिचान खुलेको छ।
काठमाडौको सुकेधारामा विप्लव माओवादीका तीन कार्कर्ताको मृत्यु भएको थियो। त्यहाँ मर्नेमा दाङका गोकुल राना मगर, कालिकोटका दुई जना दिपेन्द्र भन्ने बिभुराम बिक र निरन्तर मल्ल ठकुरीको पहिचान भएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
तीनै जना विप्लव माओवादीका सक्रिय कार्यकर्ता रहेको प्रहरीले बताएको छ। काठमाडौमा यसपालि बम विस्फोट गराउने जिम्मा यिनै तीनसहितको समूहले लिएको प्रहरीले बतायो। तीनै जनाको शव अहिले चावहिलस्थित ओम अस्पतालमा राखिएको छ।
घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुने प्रज्वल शाही हुन्। सिटिइभिटीमा पढ्ने उनी विप्लव माओवादीको विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन्।
विस्फोटमा परेर घाइते भएका पाँच जना विप्लवका कार्यकर्ता अहिले प्रहरीको नियन्त्रणमा अस्पतालमा उपचाररत छन्।
घट्टेकुलोमा घाइते भएका त्रिचन्द्र कलेजका इकाइ अध्यक्ष रविन केसीको वीर अस्पतालमा उपचार भैरहेको छ। सुकेधारामा घाइते भएका सैलुन सञ्चालक जीवकुमार ठाकुरको पनि वीरमै उपचार भइरहेको छ।
सुकेधारा विस्फोटमा परी घाइते भएका कपनका हरि खड्का, ललितपुर चुनिखेलका सुनिल महर्जन र नाम खुल्न नसकेका अर्का एक कार्यकर्ताको ओम अस्पतालमा उपचार भइरहेको छ।
महर्जन विपल्व माओवादीको नेवा मुक्ति मोर्चाका अध्यक्ष हुन् भने खड्काको पार्टीमा जिम्मेवारी खुलेको छैन।