नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको तिक्तता गहिरिएको छ।
पछिल्लो पटक गत जेठ २३ गते नेकपा सचिवालयको बैठकमा देखभेट भएका ओली र प्रचण्डबीच त्यसयता फोनमा समेत कुराकानी नभएको उनीहरू निकट उच्च स्रोतले सेतोपाटीलाई बतायो।
युरोपको आठ दिने भ्रमण सकेर असार १ गते नेपाल फर्किएपछि ओलीले गुठी विधेयकबारे परामर्श गरे।
सोमबार उपत्यकाका सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग पार्टी अध्यक्षको समेत हैसियतमा छलफल गरेका ओलीले अर्का अध्यक्ष प्रचण्डलाई भने सो बैठकमा पनि आमन्त्रण गरेनन्।
सोमबार नै पार्टी कार्यालय धुम्बाराहीमा भएको एक कार्यक्रममा सहभागी भएका प्रचण्ड पनि त्यहाँबाट सचिवालयकै अर्का सदस्य माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगे तर बाटोमा पर्ने बालुवाटार छिरेनन्।
स्रोत भन्छ, ‘नेपालनिवास कोटेश्वरमा निकैबेर बस्नुभएका प्रचण्ड कमरेडले प्रधानमन्त्रीको कार्यशैलीबारे गुनासो गर्नुभयो।’
मंगलबार दिउँसोसम्ममा पनि उनीहरुबीच कुराकानी भएको छैन।
‘भेटेरै कुराकानी हुनु त परको कुरा फोनमा समेत कुरा भएको छैन’ स्रोतले भन्यो ‘तत्काल उहाँहरुबीच कुरा हुने सम्भावना पनि देखिएको छैन। बरू सचिवालयका सदस्य माधवकुमार नेपाल भने दुबै अध्यक्षसँग बराबरी सम्बन्धमा हुनुहुन्छ।’
पार्टी संगठन विभागलगायत जिम्मेवारी बाँडफाँटका विषयमा दुई नेताबीच मतभेद छ।
झन्डै तीन साताअघि प्रधानमन्त्री ओली भारत गएका बेला प्रचण्डले एक अन्तर्वार्तामा ओलीसँग साढे दुई वर्षमा आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको र प्रधानमन्त्री त्यो सहमति कार्यान्वयन नगर्ने कुरा आफूले कल्पना पनि नगर्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले भने प्रचण्डको यो भनाइमा गम्भीर प्रतिक्रिया जनाएका छैनन्।