समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोबीच जनकपुरधाममा गोप्य वार्ता भएको छ। जनकपुरधाममा शुक्रबार भएको वार्तामा दुवै पार्टीबीच एकीकरणको विषयमा छलफल भएको स्रोतले जनाएको छ।
तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरणभन्दा अगावैदेखि राजपासँगको एकीकरणको लागि छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्कन नसकेपछि अहिलेसम्म एकीकरण हुन सकेको छैन।
जनकपुरधाममा भएको सो छलफलमा यादव र महतो दुवै पार्टी एकीकरणका लागि सहमति बिन्दुको नजिकमा पुगेको स्रोतले जनाएको छ।
शुक्रबार जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सहभागी हुनका लागि उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका नेता यादव र राजपा नेता महतो पुगेका थिए।
दुवै नेताले जनकपुरधामस्थित एक होटलमा साढे दुई घण्टा लामो गोप्य छलफल गरेका थिए ।
एकीकरणका लागि उक्त बैठकमा छिट्टै नै कार्यविधि तय गरी अघि बढ्ने सहमति भएको एक नेताले बताए ।
पार्टी एकीकरणका लागि समाजवादी पार्टी सधैं सकारात्मक रहेको बताउँदै प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका समाजवादी पार्टी प्रदेश २ का संयोजक विजयकुमार यादवले जानकारी दिए।
उनले तत्कालीन संघीय समाजवादी फोरम रहेकैबेलादेखि राजपासँग एकीकरणको लागि पहल भइरहेको र हाल तत्कालीन नयाँ शक्ति पार्टी नेपालसँग समेत एकीकरण भइसकेकोले एकताको लागि सकारात्मक रहेको बताए।
राजपा नेपालका प्रवक्ता कृष्णा सिंहले विगतदेखि पार्टी एकीकरणको सवालमा सहमति जुटिसकेकोले केही सैद्धान्तिक सवालमा भने अझै कुरा मिल्न नसकेको बताए।
उनले समाजवादी पार्टीले राष्ट्रपतीय प्रणाली, पार्टी अध्यक्ष मण्डल र प्रदेश सरकारको मन्त्रिमण्डल फेर्ने लगायतका विषयमा गम्भीर कुराकानी भएको जनाए।
प्रवक्ता सिंहले थप स्पष्ट पार्दै भने, ‘उपेन्द्रजीहरू कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको पक्षमा हुनुहुन्छ भने राजपामा ६ वटा अध्यक्ष र समाजवादी पार्टीमा एउटामात्रै अध्यक्ष रहेकोले यसमा पनि पेचिलो समस्या बन्दै गएकोले थप आन्तरिक गृहकार्यको आवश्यकता छ।
दुवै नेताबीच भएको गोप्य वार्तामा प्रदेश २ को मन्त्रिमण्डल फेरबदलको विषयले समेत प्रवेश पाएको छ।
राजपाका प्रवक्ता सिंहले प्रदेश सरकारको कार्यशैली जनभावना अनुसार अगाडि बढ्न नसकेको आरोप लागिरहेको समयमा दुवै नेताबीच प्रदेश २ को मन्त्रिमण्डल फेरबदल गर्ने विषयलाई लिएर समेत छलफल भएको जानकारी दिए।
उनले मन्त्रीहरू आफूखुसी काम गर्न थालेपछि पार्टी नै बदनाम हुने डरले केही मन्त्रीहरूलाई वर्तमान मन्त्रिमण्डलबाट हटाउन सकिने सम्भावना रहेको जानकारी दिए ।