जिल्लामा शान्ति सुरक्षा कायम गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारी(सिडिओ) को हुन्छ। तर प्रमुख जिल्ला अधिकारीमाथि नै मुद्दा दिने प्रवृत्ति बढ्दै गएको सुन्दा पत्यार नलाग्न सक्छ।
प्रदीपराज कँडेल ८ महिनाअघि धनुषामा प्रमुख जिल्ला अधिकारीको रूपमा आए। तर यस अवधिमा उनीमाथि दुई सय मुद्दा परिसकेको छ।
प्रजिअ कँडेलमाथि सडक विवाद, शान्ति सुरक्षा कायम गराउने सम्बन्धी, जग्गा विवाद लगायतको प्रकृतिको मुद्दा अधिकांश परेको देखिन्छ।
प्रजिअ कँडेलका अनुसार यस्ता विवाद मिलाई दिनका लागि निवेदन दिन आउनेहरूको विपक्षीले नै अदालतमा रिट दायर गर्ने गरेका छन्।
निवेदनकर्ताको पक्षमा कुनै निर्णय नभएपछि प्रजिअलाई नै प्रतिवादी बनाएर अदालतमा रिट दायर गर्ने प्रवृति धनुषा जिल्लामा बढ्दै गइरहेको उनले बताए ।
अधिकांश रिट दायरकर्ताले प्रजिअले आफ्नो क्षेत्राधिकारको दुरूपयोग गर्ने गरेको गुनासो गर्ने गरेको पाइन्छ ।
कँडेलले यस प्रकारको रिटले प्रजिअको कामकाजलाई प्रभावित गर्ने गरेको बताए।
उनले भने,‘आफूले जिल्लाको अन्य काम हेर्ने कि यी रिटहरूको जवाफ फर्काउने समय मिलाउनै गाह्रो हुने गरेको छ।’
‘दिनहुँ विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने, कार्यालयको अन्य कामहरू समेत हेर्नुपर्ने हुन्छ’,उनले भने,‘तर यस प्रकारको रिटका कारण केही समय जवाफ फर्काउनका लागि समेत निकाल्न परिरहेको छ।’
यस्ता रिटहरूको जवाफमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको र आफू दोषी नरहेको भन्दै अधिकांश रिटको जवाफ फर्काउने गरेको कँडेलले बताए।
उनले गत वर्षको कात्तिकदेखि धनुषामा प्रजिअ रूपमा काम गरेका हुन्।