करिब नौ लाख पूर्णकालीन कार्यकर्तासहितको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीति अहिले सचिवालयमा रहेका नौ जना नेताहरूको वरिपरि छ।
नौ जनामध्ये प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीपट्टी ईश्वर पोखरेल र विष्णु पौडेल स्पष्टै रूपमा देखिएका छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वामदेव गौतम र नारायणकाजी श्रेष्ठको दह्रो साथ छ।
पछिल्लो राजनीतिक परिस्थितिले माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि प्रचण्डतिरै ढल्काएको छ।
अब बाँकी रहेका एकजना हुन्, रामबहादुर थापा ‘बादल’।
ओली र प्रचण्डको रस्साकस्सीमा बादल कताका होलान्?
अहिलेसम्म दुबै अध्यक्षले समेत भेउ पाउन सकेका छैनन।
‘उहाँ कहिले प्रचण्डतिर ढल्किएजस्तो पनि देखिनुहुन्छ, कहिले ओलीतिर ढल्किएजस्तो पनि लाग्छ, बादलजीको मनभित्र के छ थाहा पाउन सकिन्न,’ बादलनिकट एक नेताले सेतोपाटीसँग भने।
बादल पुराना ‘नजिर’हरू हेर्दा पनि राजनीतिक परिस्थितिको लेखाजोखा गरेर अन्तिम समयमा मात्रै निर्णय गर्ने स्वभाव उनको छ।
नेताहरू भन्छन्- जतातिरको ढल्काइले आफूलाई फाइदा पुग्छ, त्यसको राम्रैसँग हिसाबकिताब गरेर मात्रै बादलले निर्णय गर्छन्।
पछिल्लो समय पनि भएको त्यही हो।
पूर्वएमाले नेताहरू बादललाई अहिले ओली कित्ताको मान्छन्। त्यसको पछाडि केही कारण छन्।
कार्यसम्पादनका आधारमा केही मन्त्रीहरूलाई हटाउनेबारे केही दिनअघि दुई अध्यक्षबीच छलफल भयो। मन्त्रिमण्डल फेरबदल गर्न उनीहरू सहमत भए।
राम्रो काम गर्न नसकेका कारण बाहिरिनेहरूको सूचीमा बादल पनि परे। त्यसपछि बादलको सम्बन्ध ओलीसँग बढ्यो,ओलीले आफ्ना एजेण्डामा अघि बढेपछि गृहमन्त्री रहिरहन सक्ने आश्वासन बादललाई दिएपछि बादल ‘टर्न’ त भए तर पुरै ‘युर्टन’ हुन भने बादलको राजनीतिक पृष्ठभूमिले दिएन।
त्यसैले हिजोआज नेकपाभित्र सिद्धान्त र संगठनको चर्काचर्की परिरहँदा बादल चुपचाप बस्छन्, मुस्कुराउँछनमात्र।
गत शनिबार बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो। बैठकमा पार्टीको नीति के हुने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच रस्साकस्सी भयो।
पार्टी एकीकरणका बेला भएको सहमतिअनुसार नै समाजवाद उन्मुख जनताको जनवादको लाइनबाट एक इन्च पनि तलमाथि गर्न नसकिने अडान प्रचण्डले राखे। कम्तिमा पार्टीको एकता महाधिवेशनसम्म ‘जनताको बहुदलीय जनवादलाई’ प्रतिवेदनमा समेट्नु पर्ने ओलीको धारणा थियो।
‘छलफलमा प्रधानमन्त्री ओलीले राजनीतिक दस्तावेज पुनर्लेखन गर्नुपर्ने प्रस्ताव राखेपछि माहौल अलि गर्मागर्मी भयो,’ सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो, ‘पहिले राजनीतिक दस्तावेज सामान्य सम्पादन गरेर सार्वजनिक गरौं भन्ने थियो, पछि प्रधानमन्त्रीले एकाएक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद राखेर पुनर्लेखन गर्नुपर्छ भन्नुभयो।’
बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा सचिवालय सदस्य ईश्वर पोखरेलले समर्थन गरेका थिए। महासचिव विष्णु पौडेल भने जनताको बहुदलीय जनवाद राख्नुपर्छ भन्ने विषयमा खुलेर केही नबोले पनि पुनर्लेखन गरौं भन्ने प्रधानमन्त्रीको प्रस्तावमा सहमत देखिएका थिए।
प्रचण्डलाई सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमको साथ थियो।
‘तर सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने सधैँजस्तै शनिबार पनि मौन बस्नुभयो, मुसुमुसु हाँस्नुभयोमात्र,’ एक सचिवालय सदस्यले भने।
बादल यति धेरै अन्तर्मुखी छन् कि मन्त्रिपरिषद् बैठकमा पनि उनी प्राय: बोल्दैनन्।
अन्तर्मुखी बादलका केही गतिविधिले प्रचण्डलाई पहिलेदेखि झस्काइसकेको थियो।
पार्टीको सांगठनिक संरचनाको टुंगो लगाउने जिम्मा पाएका बादलले पोलिटब्यूरो सदस्यहरूमा आफूतिरका नेताहरुको मात्रै नाम राखेका थिए। त्यो सूचीमा प्रचण्डको असहमति थियो।
त्यसपछि नेकपाले पोलिटब्यूरो गठनको प्रकृया नै अगाडि बढाएन।
तत्कालीन माओवादी पार्टी फुट्दा मोहन वैद्य किरण समूहमा गएका बादल फेरि प्रचण्डसँग आएका थिए। अहिले ओलीसँग नजिकिएका बादल धेरै समय उनैसँग रहन्छन् भन्नेमा धेरैलाई विश्वास छैन।
‘मलाई बादलजीले ओलीलाई पछिसम्म पनि साथ दिनुहोलाजस्तो लाग्दैन, अहिले ओलीतिरजस्तो देखिए पनि उहाँ अन्तिम निर्णय गर्ने बेला आएपछि हाम्रै पक्षमा उभिनुहुन्छ,’ प्रचण्डनिकट एक नेताले भने।
सम्भवत: बादल कुनै त्यस्तो खास अवसरको पर्खाइमा छन्, त्यही कारण उनी उठाइएका सवालमा जवाफ दिनेबाहेक अरू कुरा बोल्दैनन्।
पार्टीका औपचारिक बैठकहरूमा पनि जति रस्साकस्सी चले पनि कुनै पक्ष लिँदैनन्, मुस्कुराएर टारिदिन्छन्।