नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले कतै पनि बोल्न नपाएपछि पार्टीको आन्तरिक विषयबारे पनि संसदको बैठकमा राख्नुपरेको भन्दै गुनासो गरेका छन्।
सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने २९ जनामध्ये अधिकाशं सांसदहरूले आफूहरूलाई नेतृत्वले बोल्ने अरु कुनै ठाउँ नदिएपछि सार्वजनिक ठाउँमा बोल्न परेको दुखेसो पोखे।
प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनका अनुसार संसदमा बोल्ने ती सांसदहरूले भने, ‘पार्टी र सरकारका कामबारे हामीसँग सरसल्लाह हुँदैन, आफ्नो कुरा राख्ने ठाउँ पनि पाइएन, त्यसो गर्नु राम्रो त होइन तर संसदको बैठकमा बोल्नु बाहेक विकल्प पनि रहेन।’
संसदीय दलको बैठक अरु बेलाभन्दा आज फरक देखिएको महर्जनले बताए।
‘अरु बेला नेताहरू बोल्नुहुन्थ्यो, सांसदहरूले सुन्नुहुन्थ्यो आज भने फरक भयो,’महर्जनले सेतोपाटीसँग भने।
बैठकमा सांसद भीम रावलले सरकार र पार्टीलाई लिखित सुझाव दिएका छन्।
उनले विधेयक ल्याउँदा र सरकारले अरु निर्णय गर्दा पनि पटक्कै सरसल्लाह नहुने भन्दै सरकार र पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखे। बैठकमा रावलले भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘विधेयक ल्याउँदा न पार्टीभित्र सरसल्लाह हुन्छ न बाहिर हुन्छ। मन्त्रीहरूले पनि हाम्रो कुरा गम्भीररूपमा लिनुहुन्न। हामी त कुरै नबुझ्ने जस्तो भइयो।’ यस्तै अर्का सांसद जनार्दन शर्माले पार्टी र सरकारमा सबै चिज विधिसम्मत हुनुपर्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारका कतिपय निर्णयमा सरसल्लाह गर्न नपाएको स्वीकार गर्दै भने,‘तर सांसदहरूले धैर्यता गर्नुपर्छ जहाँ पायो त्यही बोल्न हुँदैन।’
उनले कतिपय कुरामा सांसद र जनतालाई कन्भिन्स गर्न नसक्दा बाहिर भड्काउने काम धेरै भएको भन्दै दु:ख पोखे।
प्रधानमन्त्री सरकारले निर्णय गर्दा गरेका त्रुटी सच्याउने र त्यसमा सांसदहरूको सुझाव आवश्यक पर्ने बताए।
बैठकमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका बारेमा कुनै टिप्पणी गरेनन् तर पार्टी एकता छिटो हुनुपर्नेमा जोड दिए।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आज २९ जना सांसदले आफ्नो धारणा राखेको र बाँकी सांसदले शनिबारको बैठकमा कुरा राख्ने जानकारी दिए। आजै नाम टिपाएकामध्ये २० जना सांसदले अझै बोल्न बाँकी छ।
अर्को बैठक असार २१ गते दिउँसो १ बजे डाकिएको छ।